१३ बैशाख २०८१, बिहीबार
Follow Us

ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने तयारी

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार १२:०९

लन्डन । बुद्ध फाउण्डेसन यूकेको आयोजना र लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा आगामी ७ मे बेलुका लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने व्यापक तयारी भएको छ ।
गौतम बुद्धको शान्ति सन्देश र उनी नेपालमा जन्मिएको तथ्य विश्वभर फैलाउने उद्देश्यले ट्राफलगर स्क्वायरमा सांझ ७ देखि राती दश बजेसम्म दीप प्रज्वलन र अन्य गतिविधि गरि बुद्ध जयन्ती मनाउने तयारी गरिएको हो ।
फाउण्डेशन कार्यसमिति र सल्लाहकारहरुले उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न र बेलायतमा रहेका सम्पूर्ण संघसंस्था र तिनका प्रतिनिधि एवं विदेशी संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिताका लागि अपिल गरेका छन् ।
जयन्तीबारे रणनीतिक छलफल गर्न आइतबार ब्ल्याकहिथस्थित एभरेष्ट इनमा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा बैठक सम्पन्न भएको छ । बैठकमा उपाध्यक्ष हरिश ज्ञवाली, सचिव सुरेन रुपाखेती, कोषाध्यक्ष राजन खकुरेल, उप कोषाध्यक्ष धनराज मल्ल, सदस्यहरु जीवन सेन, निरन्जन खड्का, संस्थाका सल्लाहकारहरु पशुपति भण्डारी, कुमार श्रेष्ठ, विनोद ज्ञवाली, राजेश पाठक, श्याम शेरचन लगायतको सहभागिता थियो ।
बैठकमा सहभागी सल्लाहकारहरुले बेलायतमा जन्मिएका केहि संस्थाले निकै राम्रो काम गरेका र फाउण्डेशनले पनि आगामी दिनमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । बेलायती स्कुलका पाठ्यक्रममा अझैपनि बुद्ध भारतमै जन्मिएको भनेर पढाइने जनाउंदै बैठकका कतिपय सहभागीले फाउण्डेशनले यसप्रति तत्काल ‘एक्सन’ लिनुपर्नेमा जोड दिए ।
कार्यसमिति बैठकले संस्थालाई अझै प्रभावकारी बनाउन प्रवक्तामा अर्जुन कटवाल तथा हन्स्लो बरोका काउन्सेलर बिष्णु गुरुङ र एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुँवरलाई सल्लाहकार एवं मेडिया सह- संयोजकमा प्रताप गुरुङलाई चयन गरेको छ ।
कार्यक्रम सफल बनाउन लन्डनस्थित नेपाली दूतावासले विदेशी संघसंस्थाका प्रतिनिधि र कुटनीतिज्ञहरुलाई पत्राचार गरिसकेको र नेपाल पर्यटन बोर्ड यूके, एनआरएनए यूके लगायत बेलायतका करिव चार दर्जन नेपाली संघसंस्थाले सहयोग र सहभागिताको प्रतिवद्धता जनाइसकेको अध्यक्ष दीपक श्रेष्ठले जनाए । श्रेष्ठले विशेष गरी बेलायती सांसदहरु तथा बुद्ध धर्म मान्ने विभिन्न मुलुकका कुटनीतिज्ञहरुलाई कार्यक्रममा सहभागी गराउनेबारे पहल भइरहेको जनाए ।
एनआरएनए यूकेले बुद्ध जयन्ती मनाउने कार्यक्रमप्रति विशेष चासो र महत्व दिंदै बेलायतस्थित सबै संघसंस्थालाई सहभागी भइदिन पत्राचार गरिसकेको छ ।
बुद्ध जयन्ती मनाउन दीप प्रज्वलन, पूजा, प्रवचन, पोस्टर डिस्प्ले लगायतका कार्यक्रम तय गरिएको छ ।