१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सत्तामा बसेर राप्रपा आक्रोसित, आयोग मौन

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७४, मंगलवार ०७:३९

काठमाडौं । राप्रपाको अधिवेशनले पारित गरेको मुख्य सिद्धान्त ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपाले पुनर्विचार गरोस् भनेर दिएको अल्टिमेटममा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले मौनता साधेका छन् । आफ्नो विधानअनुसार नै चुनावमा जान पाउने हक छ भन्दै विधान रक्षाका लागि राप्रपाको पदाधिकारी बैठकले आन्दोलन गर्ने घोषणा गरेर सडकमा उत्रिएको छ ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनका अनुसार सत्ता, सडक र सदन तीनवटै फोरम प्रयोग गरेर राप्रपाले आफ्नो पार्टीको सिद्धान्तलाई स्थापित गर्ने बताए । निर्वाचन आयोगले निर्णय नसच्चाए गम्भीर परिणाम भोग्न महामन्त्री लिङदेनले आयुक्त यादवलाई चुनौति दिए ।
राप्रपा आफूले बुझाएको ज्ञापनपत्रको जवाफ दिनैपर्छ भनेर आन्दोलनमा गएको हो । यस सम्बन्धमा निर्वाचन आयोगलाई पुनः स्मरणपत्र बुझाउने, कानुनी उपचारका लागि अदालत जाने र आज वैशाख ५ गते सबै स्थानीय तहमा निर्वाचन आयोगको गलत निर्णयको प्रतिलिपिमा आगो लगाउन कार्यकर्ताहरुलाई सडकमा उतारेको छ ।
वैशाख ८ गते निर्वाचन आयोगको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा विरोध सभा गर्ने र धर्ना दिने कार्यक्रम छ । राप्रपा र अन्य साना ६८ दलले निर्वाचन आयोग घेर्न जा“दा सरकारले लाठीचार्ज र धरपकट गरेको थियो र त्यसपछि निर्वाचन आयोगका चारैतिरका निकट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । निर्वाचन आयोग कुनै पनि अप्रिय घटना नघटोस्, निर्वाचनमा दुस्प्रभाव नपरोस् भनेर निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लागेको छ ।