६ बैशाख २०८१, बिहीबार
Follow Us

युकेमा जुन ८ मा मध्यावधि निर्वाचन गर्ने प्रस्ताव

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७४, मंगलवार १२:१६

लन्डन । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले निर्धारित समयभन्दा तीन वर्षअगावै आगामी जुन ८ तारिखमा देशमा आमनिर्वाचन गर्ने योजनाको घोषणा गरेकी छिन् । उनले आफू अनिच्छापूर्वक यो निष्कर्षमा पुगेको भन्दै युरोपेली संघबाट बाहिरिन ब्रिटेनले वार्ताहरु आरम्भ गर्न लागेका बेला देशमा निश्चितता र स्थायित्वको ग्यारेन्टी गर्ने यो एकमात्र उपाय भएको बताइन्।
उनले भनिन्, “देश एकताबद्ध हुँदैछ तर वेस्टमिन्स्टरमा अवस्थित संसद् भने विभाजित छ।” ब्रेक्जिट पनि भनिने ब्रिटेन इयुबाट बाहिरिने प्रक्रियाका सन्दर्भमा सरकारले गरिरहेको तयारीलाई विपक्षी दलहरुले अप्ठ्यारोमा पारिरहेको र वार्तामा सरकारको अवस्थालाई कमजोर पारेको उनको आरोप थियो।

चुनौती
ती दलहरुको त्यस्तो प्रयास निर्वाचन नगरिंदासम्म जारी रहनेमा पनि उनले जोड दिइन्। उनले निर्वाचन गराउनका लागि आफूले बुधबार संसद्‍मा प्रस्तुत गर्ने प्रस्तावलाई समर्थन गर्न आफ्ना विपक्षीहरुलाई चुनौती पनि दिएकी छिन्। निर्धारित समयअगावै बोलाइने निर्वाचनको प्रस्ताव संसद्बाट पारित हुन प्रधानमन्त्रीलाई सबै सांसदहरुको दुई तिहाई मत आवश्यक पर्दछ। तर प्रमुख विपक्षी दल लेबर पार्टीले आफूले त्यस्तो प्रकारको कुनै पनि प्रस्तावलाई समर्थन गर्ने पहिल्यै बताइसकेको छ।
– बीबीसीबाट