१३ बैशाख २०८१, बिहीबार
Follow Us

मधेस केन्द्रित दल सहमतिमा आए चुनाव दुई चरणमा

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७४, मंगलवार १३:२२

दाङ । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी गराउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसी दललाई पनि सहभागी गराएर चुनावमा जाने वातावरण सरकारले बनाइहेको जानकारी दिनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले भन्नुभयो–“यो ऐतिहासिक महत्वको निर्वाचन भएकाले चुनावको विरोधमा रहेका दललाई एक पटक पुनःविचार गर्न आग्रह गर्दछु । “अझै पनि केही भएको छैन, सहमतिका आधारमा निकास खोज्न सकिन्छ ।” उहाँले मधेस केन्द्रित दल पनि सहमतिमा आए चुनाव दुई चरणमा गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री थापाले कुनै बहानामा अब चुनाव नरोकिने र तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्दै भन्नुभयो,“अब चुनाव हुन्छ भन्नेमा कुनै द्विविधा छैन, चुनावको सबै तयारी भइसक्यो ”।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका थापाले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनीतिक र असंवैधानिक बताउँदै भन्नुभयो, “हामी निर्वाचन आयोगको एकपक्षीय निर्णय कुनै पनि हालतमा स्विकार्ने पक्षमा छैनौँं ”। त्यो निर्णय पुनःविचार नभएमा जस्तोसुकै कठोर निर्णय गर्न हामी बाध्य हुनेछौँ ।”
उपप्रधानमन्त्री थापाले धेरै कम्युनिष्ट पार्टीले अहिले पनि साम्यवाद, जनवाद, जनगणतन्त्र जस्ता मान्यता बोकेकाले के ती संविधानअनुकूल छ भनी प्रश्न गर्नुभयो ।

तुलसीपुर– उपप्रधानमन्त्री थापाले स्थानीय निकायको निर्वाचनलाई स्वतन्त्र निष्पक्ष भयरहित वातारणमा सम्पन्न गर्नका लागि कुनै कसर बाँकी नराखेर काम गर्न यहाँका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा आज सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले स्थानीय तहमा काम गर्दै आएका कर्मचारीको समायोजन र व्यवस्थापन गर्नका लागि सरकारले विभिन्न विकल्पसहित गृहकार्य गरिरहेकाले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले स्थानीय तह सञ्चालन गर्नका लागि छिट्टै आवश्यक ऐन आउनेसमेत जानकारी दिनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कुलबहादुर जिसीले जिल्लाको विकास निर्माणको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।