८ बैशाख २०८१, शनिबार
Follow Us

सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार ०७:३५

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षणमा निर्वाचनमा खटिने सहभागीलाई आज उहाँले सो निर्देशन दिनुभएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्ने अठोट गर्नुस्, आयोग तपाईहरुको साथमा छ ।” निर्वाचनको वातावरण अनुकूल बन्दै गएको छ, कहीँ कतै समस्या देखियो भने खबर गर्नुस् आयोगको तत्कालै त्यहाँ उपस्थिति हुनेछ, सुरक्षाको पूर्ण प्रत्याभूति भएको हुँदा ढुक्क भएर काम गर्नुस्– उहाँले भन्नुभयो ।
‘‘संविधान कार्यान्वयन र लोकतन्त्रको स्थायित्वको सन्दर्भमा आधारशीलाको रुपमा रहेको २०७४ वैशाख ३१ गते आइतबार हुने ७४४ स्थानीय तहको निर्वाचन नयाँ खाले जिम्मेवारी भएकाले त्यो गर्न्ु भनेको राष्ट्रको लागि ठूलो योगदान हो” – प्रमुख निर्वाच आयुक्त यादवले भन्नुभयो ।
आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्रलाई संस्थागत र स्थानीय तहलाई बलियो बनाउन हुन लागेको निर्वाचनको महाअभियानको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु भनेको हाम्रा लागि ठूलो अवसर हो भन्ने ढङ्गबाट कर्तव्य पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।
आयोगका सहसचिव नवराज ढकालले सिँहदरबारको अधिकारलाई टोलटोलमा पु-याउने उत्सवको रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको बताउनुभयो । विगतका तालिममा उपस्थित हुन नसकेका, जगेडामा रहेका तथा नयाँ नियुक्ति भएका निर्वाचन अधिकृतका लागि सञ्चालित उक्त एकदिने प्रशिक्षणमा २८ जना सहभागी रहेको आयोगले जनाएको छ । उक्त प्रशिक्षणमा निर्वाचन कानुन, नियमावली, निर्देशिका, निर्वाचन सञ्चालन गर्ने विधि र प्रक्रिया, मतगणनालगायतका विषयमा प्रशिक्षण दिइनेछ ।