८ बैशाख २०८१, शनिबार
Follow Us

बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने प्रमुख पाँच दलको निर्णय

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार १४:४७

काठमाडौं । प्रमुख पाँच दलले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र लोकतान्त्रिक फोरमका शीर्ष नेताको बैठकले निर्धारित बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको हो । मधेसी मोर्चालाई सहमतिमा ल्याउन वार्ता र सम्वादको प्रक्रिया जारी राख्दै निर्वाचनमा क्रियाशील हुने उनीहरुको निर्णय छ ।
बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गर्दा के हुन्छ ? भन्ने प्रश्न राखेका थिए । जवाफमा एमाले र लोकतान्त्रिक फोरमले मोर्चा आउने ग्यारेन्टी भए सरकारलाई सघाउने संकेत गरेपनि वैशाख ३१ गतेको निर्वाचन भने दायाँबायाँ नगर्न चेतावनी दिएका थिए । मोर्चालाई सहमतिमा ल्याउन सरकारले गर्ने पहलमा आफ्नो सहयोग हुने एमालेको भनाइ थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जाँदा प्राविधिक समस्या आउने भन्दै उ पनि सहभागी भए दुई चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका थिए । वैशाख ३१ गतेको स्थानीय चुनावबारे संशय सुरु भएका बेला प्रधानमन्त्री दाहालले आकस्मिक रुपमा ५ दलको बैठक बोलाएका हुन् ।