१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिष्ठित वसुन्धराश्री पुरस्कार ताना सर्मालाई, खगेन्द्र नेपालीलाई मानश्री

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार ०६:४२

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठित वसुन्धराश्री पुरस्कार यस वर्ष डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानले यस वर्षको मानश्री पुरस्कार बेलायतनिवासी वरिष्ठ सञ्चारकर्मी एवं साहित्यसेवी खगेन्द्र नेपालीलाई दिनेछ ।

वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाहरुका सिर्जनाद्वारा आधुनिक नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली भाषा—साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न जिन्दगी अर्पण गर्नुहुने सुप्रसिद्ध साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई वि.सं.२०७४ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको संस्थाका सदस्य सचिब कृसु क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको रकम ५० हजार रुपिंया रहेको छ ।
वि.सं.१९९१ साल असार ९ गते ईलाममा जन्मनु भएका विशिष्ट सष्टा डा. तारानाथ शर्माका बेलायततिर बरालिंदा, सम र समका कृति, घोत्ल्याइँहरु, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास, पश्चिमका केही महान् साहित्यकार, जमर्काहरु, जीवनका छाल, दुई पोका चुरा, मेरो कथा, ओझेल पर्दा, पातालप्रवास र नेपालदेखि अमेरिकासम्म लगायत चार दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भइसकेका छन् ।

त्यसै गरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले उत्कृष्ट स्तरीय र पठनीय नेपाली कविता, गीत, कथा तथा बौद्धिक, सांस्कृतिक र संस्मरणात्मक लेख—निबन्धहरुको सिर्जना एवं कालजयी स्रस्टाहरुका अजरामर कृतिहरुलाई आफ्नो श्रुतिमधुर स्वरद्वारा श्रव्यकृतिहरु प्रकाशन गरी नेपाली साहित्यलाई अझ सुपाठ्य,शालीन र समुन्नत बनाई नेपाली वाङ्मयको विकासमा महत्वपूर्ण योगदान गरी प्रवासमा रहेर पनि नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिस्ट्य कायम गनुहुने सुस्थापित, लोकप्रिय र चर्चित साहित्यकार श्री खगेन्द नेपालीलाई वि.सं. २०७४ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताइएको छ । पुरस्कारको साथमा नगद रु २५ हजार रुपियासहित सम्मानपत्र अर्पण हुनेछ ।

सन् १९४६ अप्रिल २५ काठमाडौंमा जन्मनु भएका श्री खगेन्द्र नेपालीले सत्ताइस वर्ष बीवीसी नेपाली सेवाको प्रमुखका रुपमा कार्यरत रही नेपाली भाषाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान गर्नुकासाथै जवाफ हाजिर छ(साझाप्रकाशन), महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदेखि सुन्यसम्म, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, डायमनशमसेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, स्वामी आनन्द अरुणको सन्त गाथा, र झमक घिमिरेको जीवन काँडा कि फूल लगायत विशिष्ट साहित्यिक कृतिहरु स्वंरांकनगरी श्रव्यकृति तयार पार्ने प्रशंसनीय कार्य सम्पन्न गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे(वि.सं.२०५७), वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट(वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककारश्री गोविन्दबहादुर मल्ल ‘गोठाले’,(वि.सं. २०५९) वरिष्ठ समालोचक श्री यदुनाथ खनाल(वि.सं. २०६०), वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित(वि.सं. २०६१) वरिष्ठ उपन्यासकार श्री डायमन शमशेर राणा(वि.सं. २०६२),वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई (वि.सं. २०६३),वरिष्ठ कवि श्री मोहा कोइराला(वि.सं. २०६४),वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी(वि.सं. २०६५), वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान(वि.सं.२०६६),वरिष्ठ कवि श्री वैरागी काइँला(वि.सं. २०६७),वरिष्ठ कवि श्री धर्मराज थापा(वि.संं २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी(वि.संं २०६९), वरिष्ठ चित्रकार श्री शशी शाह(वि.संं. २०७०), वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (वि.सं. २०७१),वरिष्ठ गायक श्री अम्वर गुरुङ्ग( वि.सं. २०७२), र वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री (वि.सं. २०७३) पुरस्कृत भइसकेका छन् ।

त्यसैैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी(वि.सं. २०५७),साहित्यकार श्री विनय रावल(वि.सं २०५८), नाटककारश्री अशेष मल्ल(वि.सं २०५९), गजलकार श्री ज्ञानुवाकर पौडेल(वि.संं २०६०), साहित्यकार श्री मञ्जुल(वि.सं. २०६१), कथाकार श्री मधुवन पौडेल(वि.सं. २०६२), कवि श्री विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि श्री कृष्णभूषण बल(वि.सं. २०६४),कथाकार श्रीमती भुवन ढुंगाना(वि.सं. २०६५),कथाकार श्री सनत रेग्मी(वि.सं. २०६६),कवि तथा गजलकार श्री विजय बजिमय (वि.सं. २०६७), समालोचक डा.रामदयाल राकेश(वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार श्री किरण मानन्धर (वि.सं. २०७०), कलाकार श्री नीर शाह(वि.सं. २०७१), गायककार श्री दीप श्रेष्ठ(वि.सं. २०७२), र साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ(वि.सं. २०७३) लाई सम्मान गरेको छ ।