१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टिफाको तेस्रो बैठक सुरु

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार ०७:२४

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज यहाँ सुरु भयो । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा पु-याउने विषयमा बैठकले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालका उत्पदनलाई सहजरुपमा अमेरिकी बजारमा पु-याउन र त्यसका लागि आफ्नो सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच विसं २०६८ मा टिफा सम्झौता भएको थियो । नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन उक्त सम्झौता भएको हो ।
दुईदिने उक्त बैठकमा गलैँचा, हस्तकलाका सामग्री, पश्मिना तथा छालाजन्य नेपाली उत्पादनको अमेरिकामा बजार विस्तारमा जोड दिनुका साथै पारस्पारिक व्यापार अभिवृद्धि तथा लगानीबारे छलफल हुने बताइएको छ । बैठकमा वाणिज्य, अर्थ, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र उद्योग मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, नेपाल लगानी बोर्ड, गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि अनुसन्धान विभागका उच्च अधिकारी एवम् नेपाल–अमेरिका उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी छन् ।