६ बैशाख २०८१, बिहीबार
Follow Us

शेक्सपियरको जन्मजयन्ती मनाइँदै

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार १५:०९

लन्डन । आज बेलायतमा विश्व प्रसिद्ध साहित्यकार तथा महान श्रष्टा विलियम शेक्सपियरको जन्मजयन्ती भव्यरुपले मनाइँदै छ । विभिन्न साहित्यिक कार्यक्रमको आयोजना तथा उहाँद्वारा लिखित तत्कालीन नाटकहरुको मञ्चन गरी आजभन्दा करिब साँढे चार शतकअघि अप्रिल २३ का दिन बेलायतमा जन्मनु भएका शेक्सपियरको मृत्यु पछिको ४०१ औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाउन लागिएको हो ।
राजधानी लन्डनको वेस्टमिन्स्टर आब्बे नाट्यशाला तथा शेक्सपियर्स ग्लोब रङ्गमञ्चमा थरी थरीका रमाइला कार्यक्रमको आयोजना गरी साहित्यपे्रमी लाखौँ बेलायती जनताले उहाँको स्मरण गरेका छन् ।
त्यस्तै, राजधानी लन्डनको मुटु हुँदै बग्ने प्राचीन थेम्स नदीको दक्षिणी किनारामा अवस्थित दि ग्लोब थेटरमा शेक्सपियर जीवित रहनु हुँदाको युग र समयलाई पूर्णतः झझल्को दिने गरी सजाइएको रङ्गमञ्चमा मञ्चन गरिएको नाटक हेर्दै हजारौँ दर्शकलाई आफू साँच्चिकै प्राचीन युगमा प्रवेश गरी शेक्सपियरसँग आत्मसात् गरेको अनुभूति भएको छ ।
नाटक बिधातर्फका शेक्सपियरका विश्वप्रसिद्ध कृतिहरुः रोमान्स र वियोगान्तको सम्मिश्रण भएको ूरोमियो एण्ड जुलेटू, हास्यरसले भरिपूर्ण भएका ूमच एडु अबाउट नथिङ्गू र ट्वेल्फ्थ नाइटू जस्ता नाटकहरु पनि उक्त थेटरमा मञ्चन भएका थिए । लन्डनमा बसन्त ऋतुको आगमनसँगै शेक्सपियरका विभिन्न बिधाका साहित्यिक कृतिका रसास्वादनमा रमाउँदै र भावुक हुँदै बेलायतवासीहरुले श्रद्धापूर्वक उहाँको स्मरण गरिरहेका छन् ।
बेलायतको इङ्गलिस मिड्ल्यान्ड्समा अवस्थित स्ट्राटफोर्ड अपन एभनमा सन् १५६४ मा जन्मनु भएका महान श्रष्टा शेक्सपियरको सम्मान र स्मृतिमा हिजो शनिबार एक श्रद्धाञ्जलिसभा आयोजना गरिएको र एक भव्य तथा विशाल जुलुसले पौराणिक बाजागाजाका साथ नगर परिक्रमा गरेको थियो ।
उहाँलाई भू–समाधिस्थ गरिएको स्थान होली ट्रिनिटी चर्चमा आई श्रद्धाञ्जलि अर्पण गरेपछि उक्त कार्यक्रम समापन गरिएको थियो । प्राचीन बेलायती इतिहासलाई रङ्गमञ्चमा उतार्न सफल भनी ख्याति आर्जन गरेका नायक मार्क राइलेन्स तथा उनका २५ सदस्यीय रङ्गकर्मीको समूहले हिजो वेस्टमिन्स्टर आब्बे नाट्यशाला प्राङ्गणमा पनि दिनभरिजसो शेक्सपियरका नाटकहरु मञ्चन गरी दर्शकहरुलाई थरीथरीका मनोरञ्जन पस्केका थिए । वेस्टमिन्स्टर आब्बेमा शेक्सपियरको विशाल सालिक तथा स्मृति भवन धेरै पहिला निर्माण गरिएको थियो ।