१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचनसँग नजोडिएका धारा/उपधारा संशोधन गर्न सकिँदैनः एमाले

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार १५:२१

काठमाडौं । नेकपा एमालेले बजेट ल्याएपछि दोस्रो चरणको निर्वाचन गर्ने तयारीप्रति आपत्ति जनाएको छ । सरकारले वैशाख ३१ गते पहिलो र जेठ ३१ मा दोस्रो चरणमा चुनाव गराउने निर्णय गरेपछि आज बसेको एमाले संसदीय दलको बैठकले जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने भएकाले बजेट अघि र पछि दुई चरणमा निर्वाचन गर्न नहुने प्रष्ट पारेको हो ।
निर्वाचन आचार–संहिताले पनि त्यस्तो गर्न नदिने एमालेको तर्क छ । एमालेले जेठ ३१ मै दोस्रो चरणको निर्वाचन गर्ने भए संविधान संशोधन गरेर बजेट असारमा सार्वजनिक गर्नुपर्ने जनाएको छ ।
त्यस्तै, एमालेले निर्वाचनसँग नजोडिएका संविधानका धारा/उपधारा चुनाव अघि संशोधन गर्न नसकिने पनि प्रष्ट्याएको छ । बैठकमा अध्यक्ष केपी ओलीले आफूहरुलाई बाहिर राखरे दलहरुबीच भएको सहमति मान्न एमाले बाध्य नहुने भन्दै संशोधन प्रस्ताव स्वीकार्य नहुने दोहो-याएका थिए । एमालले संसदीय गतिविधिमा मर्यादापूर्वक सहभागी हुन आफ्ना सासंदलाई निर्देशन पनि दिएको छ ।