१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकार र मधेसी मोर्चाबीच सम्झौता भएको छैनः नेता यादव

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार १५:२४

विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाबीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौता नभएको बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज विराटनगरमा आयोजित विरोधसभामा उहाँले सम्झौता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रसारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाउनुभयो । उहाँले संविधान संशोधन र राष्ट्रिय सवालका विषयमा सम्बोधन नगरिएसम्म निर्वाचनमा सहभागी नहुने पनि स्पष्ट पार्नुभयो ।
आन्दोलनको भावनालाई नसमेटिएको भन्दै संविधानमा देखिएका त्रुटीलाई सच्याइनुपर्ने विषयमा जोड दिँदै उहाँले मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र थारुको भावनालाई समेटिनुपर्ने आवश्यकता माथि जोड दिनुभयो ।
सोही सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले आपूmहरु चुनावविरोधी नरहेको र चुनावी वातावरण बनाउने दायित्व सरकारको रहेको बताउनुभयो । उहाँले चुनावी वातावरण बनाउन संविधान संशोधन, विवादित संरचनामा परिवर्तन गर्नुपर्ने, अन्तरिम संविधानमा गरिएको नागरिकता, भाषालगायत विषयलाई यथावत राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सरकारले मधेसी मोर्चासँग गरेका तीनबुँदे सहमति लागु गर्नुपर्ने र भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने उल्लेख गर्दै उहाँले झुठा मुद्दा फिर्ता हुनुपर्ने, आन्दोलनको क्रममा घाइतेको उपचार खर्च र मृतक परिवारलाई सहिद घोषणा गर्नुपर्ने माग दोहो-याउनु भयो ।
सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सीमाङ्कनमा हेरफेर हुनुपर्नेमा जोड दिँदै मधेसी, लिम्बूवान, ताम्सालिङ सबैले आफ्ना अधिकारका लागि मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री डा सुरेन्द्र झा, राजपाका केन्द्रीय सचिव दिलीप धाडेवा, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् सांसद उषा यादवलगायतले मोर्चा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।