१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फेसबुकमार्फत सहयोग जुटाएर खेलमैदान निर्माण

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७४, सोमबार ०६:२१

म्याग्दी । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुनःनिर्माणमा प्रवासमा रहेका युवाले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।
मोना कतारका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक सङ्कलन समितिले सङ्कलन गरेको रु चार लाख १५ हजारमध्ये खेलमैदानको ढलान र घेराबारमा रु चार लाख १० हजार खर्च भएको समितिले जनाएको छ ।
भलिबल खेलमार्फत क्लबले जिल्ला र राष्ट्रिय रुपमै पहिचान बनाउन सफल भए पनि व्यवस्थित खेलमैदानको अभाव भएकाले प्रवासमा रहेका स्थानीयवासीबाटै सहयोग जुटाएर खेलमैदानको मर्मत गरिएको आर्थिक सङ्कलन अभियानका संयोजक श्रेष्ठले बताउनुभयो ।
प्रवासमा रहेका स्थानीय युवाको सक्रियतामा सहयोग जुटाएर भलिबल कोर्टबाहेकको अन्य चारतर्फको खेलमैदानलाई ढलानसहित स्तरवृद्धि गर्दै घेराबारसमेत गरिएको क्लबका अध्यक्ष चिरञ्जीवी सुवेदील्ो जानकारी दिनुभयो । खेलमैदानको पुनःनिर्माण भएपछि खेलाडीलाई खेलकुदका गतिविधि गर्न सहज भएको छ भने स्थानीय सल्लेरी नरवृद्धि आधारभूत विद्यालयका विद्यार्थीलाई समेत खेल विकासको लागि सहजता मिलेको छ ।