१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७४, सोमबार ०६:३१

काभ्रे । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन्। उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए। कोही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए, कोही जीवन–मरणकै संघर्षमा छन्।
बनेपा नगरपालिका–६ का मुकेश जीवन–मरणसँग जुधिरहेका होनाहार पात्र हुन् जनआन्दोलन–२ का। मुकेशमा घरमा उनका बुबाआमा छन् तर उनीहरूसँग खुसी छैन । एकोहोरो हेरेर बस्ने छोरालाई आफूले पनि एकोहोरो हेरर बस्नुबाहेक परिवारसँग विकल्प नै छैन। मुकेशको जीवनको पीडा गणतन्त्रपछिका कुनै पनि सरकारले बुझ्न सकेन, जति उनको परिवारले खेपिरहेको छ।
प्रधानमन्त्री र मन्त्रीहरू झन्डा फहराउँदै उनको घरमा अर्धचेत अवस्थामा ओछ्यानमा सुतिरहने मुकेशलाई पटक–पटक भेट्न आए, आश्वासन दिएर फर्किए। कोही मन्त्री बाटो परेको ले बाध्य भएर मुकेशलाई भेट्न बाटोमा सुरक्षाकर्मी उभ्याएर उनको घर गए । तर, उनको परिवारको अन्तरमनलाई जाँच्ने प्रयास कसैले गरेन। देश आन्दोलनमा होमिँदा मुकेश १५ वर्षका थिए। उनी १२ वर्षदेखि ओछ्यानमा सुतिरहेका छन्।
‘२७ वर्षे छोरा बोलचाल, हिँड्डुल गर्न नसक्दा उनकी आमाको मन कति कुँडिएको होला, कसैले अन्दाज नै गर्न सक्दैन,’ मुकेशकी आमा भन्छिन् । चाडबाड आउँदा नयाँ लुगा लगाइदिएर सँगै आफन्तकहाँ धाउँदा उनका आमाबाबु खुसी हुन्थे। त्यो खुसी चुँडिएको ११ वर्षसम्म जोडिन नसक्दा पीडा हुने गरेको मुकेशकापरिवार बताउँछन्।