४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन युरोप बैठकमा २ करोड उठाउने लक्ष, एकै दिनमा ५० लाख संकलन

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७४, सोमबार १७:५४

लण्डन । आगामी जुलाई अन्तिम साता जर्मनीको फ्रयाङफर्डमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपियन क्षेत्रको बैठक काठमाण्डौंमा बन्दै गरेको एनआरएन भवन निमार्णको लागि सहयोग जुटाउन केन्द्रीत हुने भएको छ ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तका अनुसार आइतवार फ्रयाङफर्डमा सम्पन्न यूरोपस्थित एनआरएनएका पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको उपस्थितीमा भएको सो बैठकबाटै ५० लाख रुपैयाँ संकलन भएको पन्तले जानकारी दिए ।

५० लाख मध्य पन्तद्धारा संचालित सिटी बिजनेस होटल समूहले २५ लाख सहयोग गर्ने घोषणा गरेको हो । यस्तै यूरोप संयोजक कुल आचार्य सो सम्मेलनका लागि ६ लाख रुपैयाँको सहयोग दिने भएका छन् । बाँकी रकम अन्य पदाधिकारीबाट जम्मा भएको हो ।

काठमाण्डौंमा बन्दै गरेको एनआरएन भवनका लागि यसअघि बोलेका सहयोगदाताबाट समेत पूर्णरुपमा आर्थिक संकलन नभैसकेको र थप सहयोगदाताहरुलाई भवन निर्माणमा सहभागी बनाउने उदेश्यले सकृय रुपमा आर्थिक सहयोग जुटाउन लागिएको उपाध्यक्ष पन्तले जनाए । पन्तले सो बैठकबाट बिभिन्न राष्ट्रिय समितिको सहयोगमा करिब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष दिएको जानकारी दिए ।

बैठकमा गैरआवासीय नेपाली संघका संरक्षक दिल गुरुङ, महासचिव डा. बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी लगायतको उपस्थिती थियो । बैठक सो बैठकका लागि बिभिन्न उपसमिति समेत गठन गरेको छ ।
फ्रयाङफोर्डको लिन्डरमा आयोजना हुने बैठकमा यूरोपस्थित २७ देशमा राष्ट्रिय समितिको सहभागीता रहने छ ।
‘गैरआवासीय नेपाली संघले सुरु गरेको काठमाण्डौंमा बन्दै गरेको भवन, सामूहिक लागानीको प्रगति समीक्षा गर्दै अगामी दिनमा नेपालमा थप लगानीका सम्भवनाका विषयमा यूरोप बैठक केन्द्रित हुनेछौं, संयोजक आचार्यले भने, ‘युरोप क्षेत्रमा बस्ने नेपालीले भोगेका समस्या एकै ठाउँमा बसेर सामूहिक रुपमा छलफल गर्नेछौं ।’ आचार्यले सो बैठकका प्रस्तुत गरिने अजेन्डाको बिस्तृत विवरण पछि ल्याइने जानकारी दिए ।

गैरआवासीय नेपाली संघले हरेक बर्षमा क्षेत्रीय बैठक गर्दै आएको छ । बैठकले संघको नीति निर्माण तर्जुमा गरी केन्द्रीय महाअधिवेशनका लागि प्रस्ताव तय गर्नुका साथै सुझाव पेश गर्छ ।

गैरआवासीय नेपाली संघको विधानमा क्षेत्रीय संयोजकको अवधारणा आएपछि हरेक वर्ष यूरोप क्षेत्रमा गठन भएको राष्ट्रिय समितिको संयुक्त बैठक वार्षिक रुपमा बस्दै आएको छ । यस्ता बैठकमध्ये पहिलो क्षेत्रीय बैठक सन २००७ को जुलाईमा लण्डनमा र त्यसपछि सन २००८ मा बेल्जियम, सन २००९ मा पोर्चुगलमा सन २०१० मा फ्रान्स, सन २०११ मा रुसमा, सन २०१३ मा स्वीजरल्याण्ड, सन २०१४, सन् २०१६ मा डेनमार्कमा सम्पन्न भएको थियो ।