११ बैशाख २०८१, मंगलवार
Follow Us

बजारमा नक्कली नोटको बिगबिगी

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७४, मंगलवार ०७:१६

काठमाडौं । बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ । गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्। त्यसमा रू. ५ सय र १ हजारका नोट छन्।
नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँछन्। राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म नक्कली नोट आएको बताइएको छ । यस्तै, केही महीनाअघि जाजरकोटमा नक्कली नोट छाप्ने मेशिनसहित व्यक्ति पनि पक्राउ परेका थिए। नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीका अनुसार केन्द्रीय बैङ्कमा प्रायः ८—१० दिनमा एक/दुईओटा नक्कली नोट आउने गरेको छ।
विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँ र जाँडरक्सी खाने ठाउँमा नक्कली नोटको प्रयोग हुने बढी सम्भावना हुन्छ। घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने सम्भावना बढी भएकाले सतर्क हुनुपर्ने निर्देशक उप्रेतीको सुझाव छ ।
केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेल अपरिचित व्यक्तिसँग कारोबार नगर्ने, भीडभाडमा सतर्क रहने, ठूलो कारोबार नगर्नेलगायत सावधानी अपनाउने र रकमको कारोबार सधैं बैङ्किङ च्यानलबाट गर्नुपर्नेमा जोड दिन्छन्।