४ बैशाख २०८१, मंगलवार
Follow Us

निर्वाचनमा सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको सन्देश

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७४, मंगलवार १४:३६

काठमाडौं । भारत सरकारले नेपालमा यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिफोन गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो । ‘‘प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताउनुभयो’’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भन्नुभयो ।

आज दिउँसो ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिनुभएको हो । टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताउनुभएको छ ।

टेलिफोन वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाइका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिनुभएको सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।