८ बैशाख २०८१, शनिबार
Follow Us

पछिल्लो राजनीतिक अन्यौल अन्त्य गर्न प्रमुख पाँच दल आज पनि छलफल

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार ०५:४५

काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयपछि उत्पन्न राजनीतिक अन्यौल अन्त्य गर्ने विषयमा मुख्य पाँच दलबीच आज पनि छलफल हुँदैछ । हिजो साँझ अवेरसम्म बसेको पाँच दलका शीर्ष नेताहरुको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल हुने बताइएको छ । प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले मंगलबारको संसद बैठक अवरुद्ध गरेको थियो । यस्तै एमालेले दुई चरणको चुनाव घोषणा, पहिलो र दोस्रो चुनावको एक महिनाको अन्तर, चुनावअघि बजेट ल्याउने लगायतका विषयमा पनि असहमति जनाउँदै आएको छ ।
यसअघि हिजो राति बसेको पाँच दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिमा संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने भन्दै एमालेलाई सहमतिमा आउन आग्रह गर्नुभएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दलका नेताहरुले संसदको बैठक अघि बढाउनका लागि सरकारले थप छलफल गर्ने जनाएका थिए ।
आज बस्ने संसद बैठक पूर्व पाँच दलबीच संविधान संशोधन र दुई चरणको निर्वाचनमा सहमति गर्ने सरकारको तयारी छ ।