११ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपति भण्डारीद्वारा देउवा र प्रचण्डसँग भेट

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७३, आईतवार ०७:०१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गर्नुभएको छ । देउवालाई विहान १० बजे भेट्न शितल निवास डाक्नु भएको थियो भने भेटका लागि प्रचण्डलाई ११ बजेको समय मिलाइएको थियो ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको देउवाका सहयोगी भानु देउवाले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पार्नुभएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि टु्ङ्गो लाग्ने दिन आज उहाँहरुबीच सो भेटघाट भएको हो ।
नेपालको संविधानको सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पदमुक्त हुने प्रावधान स्पष्ट भए पनि नयाँ सरकार गठनको व्यवस्थाका बारेमा भने प्रमुख दलबीच बहस जारी छ । काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले गत असार २९ गते प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शुक्रबारदेखि छलफल भएको प्रस्तावको आज टुङ्गो लाग्ने संसद्को कार्यसूची छ ।