१२ बैशाख २०८१, बुधबार
Follow Us

राप्रपाको घोषणापत्रमा सबै नगरपालिका ‘स्मार्ट सिटी’

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १५:४८

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वर्षभित्र हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित स्थानीय तह निर्वाचनको घोषणा–पत्र सार्वजनिक गरेको छ । अध्यक्ष कमल थापाले आज ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा–पत्र सार्वजनिक गरेका हुन् । राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दाबी पनि गरेको छ ।
गाउँ र नगरपालिकाले बजेटको कम्तिमा २० प्रतिशत शिक्षामा विनियोजन गरिने माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने र शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा पनि घोषणा–पत्रमा गरेको छ । प्रत्येक स्थानीय तहमा कम्तिमा २५ शैयाको अस्पताल निर्माण गरिने उसको प्रतिवद्धता छ ।
एक परिवार : एक रोजगारीको नारा दिएको राप्रपाले २५ जनाभन्दा बढीलाई रोजगारी दिने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गर्ने, प्रत्येक घरमा बिजुली र खानेपानी र ५ बर्षभित्र हरेक वडामा मोटरबाटो पुर्‍याउने, एक गाउँ/नगर : एक उत्पादन अभियान चलाउने, व्यवसायिक रुपमा गाईपालन गर्नेलाई स्थानीय कर मिनाहा, निःशुल्क पशु वीमा र सहुलियतमा ऋण पाउने व्यवस्था गरिने विषय पनि राप्रपाको घोषणा–पत्रमा अटाएको छ ।
राप्रपाले साना जलविद्युत वा सौर्य ऊर्जा उत्पादन गर्न चाहने कम्पनी, गैरसरकारी संस्था वा समुदायलाई लागतको ४० प्रतिशत रकम अनुदान दिने वा स्थानीय तहले शेयर लगानी गर्ने व्यवस्था गरिने पनि बताएको छ ।
आफूले जितेको स्थानीय तहका प्रत्येक कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर अनिवार्य रुपमा राख्ने व्यवस्था गर्ने गरिने, गौहत्यालाई पूर्णत निषेध गर्ने र प्रत्येक गाउँ र नगरपालिकामा गौशाला निर्माण गर्ने राप्रपाको घोषणा–पत्रमा उल्लेख छ । हिन्दूवादी पार्टी भएपनि राप्रपाले मठ मन्दिरलाई मात्रै नभएर चर्च, मस्जिद र गुम्बालाई पनि संरक्षण र सहयोग गर्ने धार्मिक नीति घोषणा–पत्रमार्फत अघि सारेको छ ।