१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसदको अर्को बैठक कहिले बस्छ, थाहा छैन

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १६:१३

काठमाडौं । ‘ल भन्नुस् त साथीहरु, हामीभित्र के गर्दैछौँ ?’ दिनभर कुर्दा पनि बेलुकी आठ बजेसम्म बैठक नबसेपछि नेकपा (एमाले) का सांसद् उदय नेपाली श्रेष्ठले बैठकस्थलबाट बाहिरिँदै पत्रकारहरुलाई यसरी सोध्नुभयो । प्रायः नेता र सांसद्हरुलाई राजनीतिक गतिविधिबारे पत्रकारले प्रश्न सोध्ने सोधिने संसद्को बैठकस्थलमा आज नेता र सांसद्हरु अन्योलमा रहन विवश हुनुपरेको उदाहरण हो यो ।
आज बिहान ११ बजेको पहिलो बैठकमा संविधान संशोधन विधेयकको कार्यसूची र ११ जिल्लामा स्थानीय तह पुनरवलोकनबारे सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेको आपत्ति र अवरोधपछि दिउँसो ३ बजेका लागि तोकिएको थियो । त्यसबीचमा प्रमुख दलका शीर्ष नेताहरुलाई बसालेर संसद्को गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले पहल गर्नु भएपनि सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसकेपनि संसद् सचिवालयले सार्वजनिक सूचना टाँस नगरी अनौपचारिकरुपमा साँझ ५ बजे बैठक बस्ने सन्देश दियो ।
त्यसबीचमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले विपक्षी एमालेलाई संसद् खुलाउन आग्रह गर्नुभयो तर त्यो मान्य भएन । पहिलो बैठकमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिलामन्त्री कमल थापाले मधेसमा आन्दोलन गरिरहेका दललाई स्थानीय तहको निवार्चनमा ल्याउने सर्तका साथ संविधान संशोधन र केही जिल्लामा स्थानीय तह पुनरवलोकनका लागि निर्णय भएको जानकारी दिनुभएको थियो । त्यस प्रयासमा समर्थन नहुने भन्दै एमालेले सदन अवरोध गरेको हो ।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले स्थानीय तह निर्वाचनको मिति तोकिएको अवस्थामा पुनरवलोकन गराउन खोज्नु असंवैधानिक भएको जनाउनुभएको थियो । त्यसपछि साँझ मन्त्रिपरिषद्को बैठकका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरु बाहिरिनुभयो, एमालेका शीर्ष नेताहरु सम्मेलन केन्द्र नजिकैको एक रेष्टुराँमा खाजा खान भन्दै अनौपचारिक बैठक गरेर समय गुजार्नुभयो । नेपाली काँग्रेसका शीर्ष नेताहरु पनि केन्द्रभित्रै अनौपचारिक छलफलमा रहनुभयो तर दोस्रो तहका नेता र सांसद्हरु नेताबाट कतिबेला के सन्देश आउने हो र पालना गर्नुपर्ने हो भनेर कुर्नबाहेक अर्काे विकल्प नभेट्टाएपछि अन्योलमा रहेका हुन् ।
बैठक कक्षबाट बाहिरिन लाग्दा काँग्रेस नेता डा रामशरण महतले रासससँगको कुराकानीमा भन्नुभयो, ‘खोइ, बैठक हुने वा नहुने केही टुङ्गो छैन । प्रयास जारी छ । म त दिक्क लागेर हिँडेँ ।’ उहाँको यो भनाइ बैठकस्थल छाडेर कतै जाँदा बैठक सुरु भइहाले दौडेर आउनुपर्ने तर घन्टौं बस्दा पनि बैठक सुरु नहुनुको पीडा सांसद्प्रति लक्ष्यित रहे पनि पत्रकारहरुको बाध्यता त्यस्तै हुन्छ ।
दिउँसो ३ बजेका लागि उपस्थित कतिपय सांसद्हरु ५ बजे आउने गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट बाहिरिए भने कतिपय केन्द्रको परिसरमै रहे तर ८ बजेसम्म बैठक नबस्दा दिउँसोदेखि कुर्ने सांसद्हरु बाहिरिन थाल्नुभयो । सचिवलयका कर्मचारी, पत्रकार र सुरक्षाकर्मी पनि बैठक बस्ने-नबस्नेबारे सूचनाको प्रतीक्षामा बस्न विवश बने । राजनीतिक गतिरोधको अवस्थामा यस्तो अन्योल हुनु स्वाभाविक भएपनि यस्तै अवस्थाले सांसद् र पत्रकारहरुलाई सूचनाको भोक जाग्ने रहेछ । क्यान्टिनमा सांसद् र पत्रकारको कुरा चल्दै थियो, आज दोस्रो बैठक फेरि सुरु हुने अवस्था त देखिँदैन तर यसबारे आधिकारिक जानकारी दिन हामी पनि सक्दैनौँ ।
प्रकाश सिलवाल