१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘संख्या थप्ने निर्णय सम्पूर्णरुपमा फिर्ता भएको होइन’

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७४, बिहीबार १२:३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको संख्या थप्ने निर्णय सम्पूर्णरुपमा फिर्ता नलिइएको भन्दै मधेस केन्द्रित दललाई हतारमा कुनै निर्णय नलिन आग्रह गरेका छन् । संख्या बढाउन लागिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार र बुधवार संसद अवरुद्ध गरेपछि हिजो तीन दलबीच संख्या थप्ने निर्णय फिर्ता लिने सहमति भएको थियो ।
सो सहमतिप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा पूर्व सहमति विपरित संख्या बढाउने निर्णय फिर्ता गरिएको भए आन्दोलनमा जाने चेतावनी दिएको थियो । उसको चेतावनीपछि प्रधानमन्त्री दाहालले निर्णय सम्पूर्णरुपमा फिर्ता नलिइएको र त्यसबारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिएका हुन् ।
प्रधानमन्त्रीको आश्वासनपछि केही नरम भएका राजपा नेपालका नेताले ऐन संशोधन गरेर भएपनि ‘छाता’ चुनाव चिन्ह पाउने व्यवस्था गर्न प्रधानमन्त्रीकोे ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्षी र मधेस केन्द्रित दलको ‘चेपुवा’मा परेका प्रधानमन्त्री दाहालले दु्रतमार्गबाट संविधान संशोधन पारित गर्ने र त्योसँगै संख्या बढाउने विषय पनि अगाडि लैजाने आश्वासन दिएका हुन् ।

सर्वदलीय बैठक आह्वान
यसैबीच, प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन र संविधान संशोधनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका हुन् ।