१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एभरेस्ट बहुराष्ट्रिय कम्पनीले लगानी विस्तार गर्ने

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७४, बिहीबार १२:५०

काठमाडौं । नेपाली बहुराष्ट्रिय कम्पनी माउन्ट एभरेस्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । केन्द्रीय कार्यालय काठमाडौँ रहेको सो कम्पनीले एमइ ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनी खडा गरी व्यवसाय सुरु गर्ने तयारी गरेको हो ।
‘नेपालीले नेपालमै’ नारासहित ट्राभल एन्ड टुर्स, होटेल, रेस्टुराँ, शिक्षा, सुपरमार्केट र कृषिलगायत क्षेत्रमा सेवा तथा वस्तुको व्यापारमा लगानी गर्ने सो कम्पनीले जनाएको छ । नेपालसहित एसिया, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा व्यवसाय विस्तार गरिने कम्पनीका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिनुभयो ।
पहिलो पटक विभिन्न देशमा बस्ने नेपाली व्यवसायीद्वारा प्रवद्र्धित सो कम्पनीले विसं २०८२ सम्ममा देश विदेशमा गरी करिब ५०० नेपालीलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ । नेपाललाई विश्वमा चिनाउन र विश्वका पर्यटकलाई नेपालमा आकर्षित गर्न कम्पनीले काठमाडौँबाट सेवा सुरु गरेको अधिकारीले बताउनुभयो ।
नेपालको विकासको लागि सम्भावना भएर पनि पछि परेको पर्यटन क्षेत्रलाई विशेष जोड दिई विदेशी लगानी भित्र्याउन कम्पनी लागि पर्ने बताउनुभयो । अध्यक्ष अधिकारीका अनुसार हालसम्म धेरै बहुराष्ट्रिय कम्पनीले नेपालमा शाखा कार्यालय खोलेर मात्र सेवा दिने गरेका छन् । एमइ ग्रुपले पहिलो पटक बहुर्राष्ट्रिय कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँमा राखेर विश्व बजारमा व्यापार प्रवद्र्धन गर्ने योजना ल्याएको छ । कम्पनीको शुक्रबार औपचारिक शुभारम्भ गरिनुका साथै विभिन्न क्षेत्रमा लगानीको घोषणा गरिने जनाइएको छ ।