June 6, 2020
3:02 AM | 7:47 AM

फास्ट ट्रयाकबाट संशोधन प्रस्ताव अघि बढाइने

  28th April 2017 मा प्रकाशित

काठमाडौं । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्नुभएको आचार्यले जानकारी दिनुभयो ।
संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको जनाइएको छ ।

प्रतिक्रिया