७ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार १३:५९

भक्तपुर । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा (एमाले)ले अस्वीकार गरेको छ । आज भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो ।
छलफलका लागि सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटमा देउवाले ओलीलाई मधेसवादी दललाई चुनावमा ल्याउनका लागि संविधान संशोधन आवश्यक रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
जवाफमा ओलीले संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न नसक्ने बरु संशोधन प्रस्तावलाई कुनै हालतमा असफल बनाउने बताउनुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन र वर्तमान राजनीतिक अवस्थाका बारेमा दुई दलका नेताबीच छलफल भएको बताउनुभयो । एमाले महासचिव ईश्वर पोखरेलले संशोधनमा सहयोग गर्न काँग्रेसले गरेको आग्रह आफूहरुलाई मान्य नभएको बताउनुभयो ।