६ बैशाख २०८१, बिहीबार
Follow Us

इयुले बेलायतलाई सिंगल मार्केटमा पूर्ण पहुँच दिने

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७३, आईतवार १९:३१

इयुका वरिष्ठ अधिकारीहरूले बेलायतलाई सिंगल मार्केटमा राखिराख्ने गरी ‘ब्रेक्सिट डिल’ मा गृहकार्य गरिरहेको आजको ‘द गार्जियन’ले खुलासा गरेको छ ।
बेलायतले गत महिना जनमत सङ्ग्रहमार्फत इयुबाट अलग्गिने निर्णय गरेपछि बेलायत र इयु दुबैको अर्थतन्त्रमा नकारात्मक असर देखिएको थियो । विश्वको सबैभन्दा ठूलो एकल बजार गुमाउँदा बेलायतलाई हुने ठूलो आर्थिक क्षति र बेलायतजस्तो विश्वकै ठूलो अर्थतन्त्र पूर्ण अलग हुँदा इयुलाई पुग्ने ठूलो नोक्सानलाई ध्यानमा राखेर दुबैलाई लाभ हुने मध्यमार्गी सम्झौतामा गृहकार्य भइरहेको हो ।

बेलायतको मुख्य चासोको रूपमा रहेको माइग्रेशनलाई पनि सम्बोधन गर्ने र उसलाई युरोपियन बजारको हिस्सा बनाई राख्ने गरी डिल गर्नेतिर ती अधिकारीहरूले छलफल चलाएका छन् । बेलायतलाई इयुका नागरिकहरूको स्वतन्त्र आवतजावतसम्बन्धी नियमबाट केही वर्षका निम्ति इमर्जेंसी छुट दिइनेछ । ७-१० वर्षसम्मको छुट दिएर भएपनि बेलायतलाई इयु-मार्केटमा राखिराख्दा दुबै पक्षलाई फाइदा हुने तर्कले बल पाउँदै गएको बताइन्छ । तर यस्तो कुनै डिल हुनुअघि बेलायतमा रहेका युरोपियन नागरिकको स्थायी संरक्षणको सुनिश्चतता भने बेलायतले गर्नुपर्नेछ । इयुमा रहेका आफ्ना नागरिकको हक़ सुनिश्चित भए आफूले युरोपियन नागरिकको हक़ संरक्षण गर्न कुनै समस्या नरहेको बेलायती प्रधानमंत्री टेरेसा मेले बताइसकेकी छन् । इयुमा आधिकारिक प्रतिनिधित्व नभए पनि यसका आर्थिक क्षेत्रको लाभ लिने हुँदा बेलायतले पनि इयु बजेटमा योगदान दिनुपर्ने ती अधिकारीहरूको राय छ ।

बेलायतलाई कुनै न कुनै रूपमा इयुभित्र राख्नुपर्ने सोच धेरै युरोपियन अधिकारीहरुको रहेको छ । तर आकर्षक डिलसहित बेलायतलाई धेरै कन्सेसन दिंदा अन्य देशभित्र पनि इयुविरोधी जनलहर बढ्ने सम्भावनाको व्यवस्थापन अहिलेको गम्भीर चुनौती रहेको छ । आजको दि गार्जियनमा खबर छ ।