८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस चुपचाप, एमाले, माओवादी र राप्रपा छलफलमा

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार ०८:३०

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि विकसित घटनाक्रम बारे छलफल गर्न आज प्रमुख दलले आन्तरिक छलफल गर्दैछन् । पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले केन्द्रिय कार्यालयको बैठक बोलाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक बैठक बोलाएका हुन ।

वैठकमा स्थानीय चुनावको तयारी, गृहमन्त्रीको राजिनामा, उम्मेदवार चयन र घोषणापत्र तयारी लगायतका विषयमा पनि छलफल हुने कार्यक्रम छ ।

नेकपा एमालेले पनि आजै स्थायी समिति बैठक बोलाएको छ । दिउसो पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने स्थायी समिति बैठकमा महाअभियोग प्रस्ताव, स्थानीय निर्वाचन लगायतका विषयमा कुराकानी हुने एमाले नेताहरुले बताएका छन् । एमालेले अर्को महाअभियोग तयारी गर्दैछ भनेर चलाइएको हल्ला सम्पूर्ण रूपले निराधार भएको सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदबार पनि आजै चयन गर्ने तयारी गरेको छ । महाअभियोग प्रस्ताव गलत रहेको भन्दै यसअघि नै एमालेले आपत्ति जनाइसकेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा राप्रपाले सरकारमा पार्टीको सहभागिताका बिषयमा औपचारिक निर्णय गर्ने बताइएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान एघार बजेपछि बसेको बैठकमा सरकारका पछिल्ला कदम र राजनीतिक घटनाक्रमले सरकारमा सहभागिताको बिषयमा छलफल भएको राप्रपाका नेताहरुले बताएका छन् ।