११ बैशाख २०८१, मंगलवार
Follow Us

हस्ताक्षर दुरुपयोग भयो भनेर कांग्रेस सांसदहरु बोल्न थाले

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार ०८:५७

काठमाडौं । हिजो प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि मुख लुकाएर बसेका नेपाली कांगे्रसका सांसदहरुले सामाजिक सञ्जालमार्फत् आफ्नो अभिव्यक्त गर्न थालेका छन् । त्यसो त उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्तावप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । कानुनसम्बन्धी जानकार कांगे्रस सांसद राधेश्याम अधिकारीले पनि हिजै पे्रस विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको विपक्षमा उभिएका थिए ।
सामाजिक सञ्जालमार्फत कांगे्रसका दर्जनौं सांसदहरुले महाअभियोगको विपक्षमा बोल्न थालेका छन् । कांगे्रस नेतृ सुजाता कोइरालाले अरु नै प्रयोजनका लागि लिइएको हस्ताक्षर दुरुपयोग भएकोमा घोर आपत्ति जनाएकी छन् । उनले टुइटरमार्फत् भनेकी छन्, ‘नेपाली कांगे्रस र लोकतन्त्रमाथि नै ठूलो हमला भएको छ ।’
कांगे्रस युवा नेता धनराज गुरुङले पनि स्वतन्त्र न्यायलयमाथि नेपाली कांगे्रसले गरेको व्यवहार घोर आपत्तिजनक रहेको उल्लेख गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाका नजिक मानिएका चितवनका सांसद शेषनाथ अधिकारीले पनि आफूलाई थाहा नै नदिइ महाअभियोगमा हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका छन् । भोजपुरबाट प्रतिनिधित्व गर्ने सांसद महेन्द्र राईले पनि आपत्ति जनाएका छन् । यसरी हस्ताक्षर दुरुपयोग भयो भनेर आपत्ति जनाउनेहरु कांगे्रस सांसदहरु दर्जनभन्दा बढी पुगेका छन् ।