१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘भाग्यले बाँचेकाहरु’ले बेलायती नेतालाई पनि रुवायो

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार १०:१९

उत्तरी आयरल्याण्ड । ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्रले बेलायती नेतृलाई समेत रुवाएको छ ।

उत्तरी आयरल्याण्डमा आइतबार नेपाली समुदायले आयोजना गरेको विशेष शोमा लेबर पार्टीकी नेतृ बिग्रेट एन्टोनसहित बेलायती र नेपालीहरु समेत रोए । आयरल्याण्डको लेबर पार्टीकी पूर्वउपाध्यक्ष एवं सांसदकी उम्मेदवार समेत रहेकी एन्टोनले भनिन, ‘म आफै नेपाल पुगेजस्तो लाग्यो, नेपालीको पीडामा हामी पनि साथमा छौँ ।’ भूकम्प लगत्तै आफूहरुले ६ हजार पाउण्ड संकलन गरेर नेपाल पठाएको भन्दै आगामी दिनमा पनि भूकम्पपीडितलाई सहयोग गर्न इच्छुक रहेको बताइन् । एन्टोनको आडमा बसेर रुँदै थिइन्, अर्की नेपाली सावित्री सापकोटा । उनले भनिन् – ‘डकुमेन्ट्रीका पात्रहरुको पीडा हेर्दा आफ्नै पीडा जस्तो लाग्यो ।’

उत्तरी आयरल्याण्डस्थित लेबर पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं नेपाली समुदायका अगुवा विकास चुडालले ‘भाग्यले बाँचेकाहरु’ हेर्न विदेशी समुदाय इच्छुक रहेको भन्दै उत्तरी आयरल्याण्डको संसद, बेलफास्टका मेयर तथा उच्च अधिकारीहरुलाई विशेष प्रदर्शनको तयारी गरिएको बताए ।

नेपाली समुदायका अध्यक्ष लिला निउरेले उत्तरी आयरल्याण्डमा पहिलोपटक नेपाली समुदायलाई ‘भाग्यले बाँचेकाहरु’ देखाउन पाउँदा खुसी लागेको बताए । भूकम्पपछि आफूहरुले उत्तरी आयरल्याण्डबाट २० हजार पाउन्ड नेपाल पठाउन सफल भएको उनले बताए ।

नेपाली समुदायका अगुवाहरु लक्ष्मण चिमोरिया, नारायण कुँवर, सुरेन्द्र रेग्मी लगायतले उत्तरी आयरल्याण्डमा नेपालीहरुको समुदाय सानै रुपमा भएपनि भूकम्पको बेला आफूहरुले सक्दो सहयोग गरेको स्मरण गरे ।

आयरल्याण्डको शोमा भाग लिन ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरे बेलफास्ट पुगेका थिए ।
‘भाग्यले बाँचेकाहरु’ बेलायतको विभिन्न शहरमा प्रदर्शन हुँदैछ । सहारा क्लव युकेले आगामी शनिबार साँझ ७ उलवीचस्थित ट्रामसिड थियटर र आइतबार साँझ ७ बजे अल्डरसटस्थित एम्पाएर बैंक्वटमा प्रदर्शन गर्दैछ । गत साता बेलायतको संसदमा भाग्यले बाँचेकाहरु प्रदर्शन भएको थियो ।