१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चन्दा संकलनमा हाम्रो संलग्नता छैन : नेपाली दूतावास, लन्डन

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार १३:२१

लन्डन । नेपाली दूतावास लन्डनले आगामी ७ मेमा आयोजना हुने बुद्धजयन्ती समारोहका लागि गरिएको आर्थिक संकलनप्रति आश्चर्य प्रकट गरेको छ ।

नेपाली दूतावास लन्डन, पर्यटन बोर्ड र बुद्ध फाउन्डेसन यूकेको संयुक्त आयोजनामा हुने सो कार्यक्रमका लागि फाउन्डेसनले नेपाली दूतावासको अनुमति बिना आर्थिक संकलन गरेपछि दूतावासले आपत्ती जनाएको हो ।

नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरणले सोमबार नेपाल ब्रिटेन डट कमसँग कुरा गर्दै बुद्धजयन्तीका नाममा फाउन्डेसनले दूतावाससँग कुनै छलफल नै नगरी एकलौटी रुपमा आर्थिक संकलन गरेको खबर आश्चर्यजनक भएको बताए । आरणले भने, ‘हामीले राम्रो उदेश्यका लागि आयोजना हुने कार्यक्रम भएका कारणले फाउन्डेसनलाई सहयोग गरेका हौं, अब दूतावास आयोजक बन्दैन ।’

उनले भने, कुनै पनि आर्थिक गतिविधिमा नेपाली दूतावास संलग्न हुदैन, जसले दूतावाससहितको सहभागितामा आयोजना हुने कार्यक्रम भनेर आर्थिक संकलन गरेका छन्, त्यो गलत काम हो, दूतावासको कुनै संलग्नता छैन ।

प्रवक्ता शरदराज आरणले अब नेपाली दूतावास लन्डन आयोजक नबन्ने प्रष्ट पार्दै बुद्धजयन्ती कार्यक्रममा पूर्ण सहयोग गर्दै सहभागी मात्र हुने प्रष्ट पारे । उनले भने, ‘पैसा नहुने संस्थाले कार्यक्रम गर्नुभन्दा पहिलै सोच्नु पर्ने हो, आर्थिक अभाव छ भने किन कार्यक्रमको आयोजना गर्नु ?’

बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रमको व्यवास्थापनका लागि आफ्नो सक्रियतामा आर्थिक संकलन गर्न लागिए पनि नेपाली दूतावास लन्डनको कुनै संलग्नता नरहेको बताए । उनले भने ‘दूतावासलाई विदेशस्थित कुटनैतिक अधिकारीहरुलाई पत्रचारको लागि मात्र आग्रह गरिएको हो । आर्थिक संकलन फाउण्डेसनले गरेको हो । दूतावासलाई यो विषयमा विवादमा ल्याउन मिल्दैन ।’