१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महाभियोग प्रस्ताव स्वेच्छाचारिताको पराकाष्टा

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार १५:५९

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्का केही सदस्यले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनु ‘स्वेच्छाचारिताको पराकाष्टा’ भएको ठहर गरेको छ ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकको निर्णयमा भनिएको छ, “ पूर्वाग्रह र दुराशयपूर्ण उक्त प्रस्ताव विधिको शासन र स्वतन्त्र न्यायलयमाथिको ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।” एमालेका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमाा भनिएको छ, “यो प्रस्ताव लोकतान्त्रिक व्यवस्थाअन्तर्गतको संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरणको सिद्धान्तका विरुद्धमा मात्र छैन, यसले नेपाली काँग्रेस र माओवादी केन्द्रको स्वेच्छचारिताको पराकाष्टासमेत प्रकट गरेको छ ।
‘निर्भीक, दक्ष तथा कर्तव्यपरायण प्रधानन्यायाधीश’का विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको निन्दा गर्दै उक्त प्रस्ताव तत्काल फिर्ता लिन माग पनि गरिएको छ ।
महानगरका उम्मेदवार चयन हुँदै
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको सन्दर्भमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख चयनका लागि पार्टीको बैठक अहिले जारी छ । पार्टीले प्रदेश नं. ३, ४ र ६ का सबै स्थानीय तहमा निर्धारित समयमा उम्मेदवारको मनोनयन दर्ता गर्न मातहत कमिटी तथा उम्मेदवारलाई निर्देशितसमेत गरेको छ ।