१५ चैत्र २०८०, बिहीबार
Follow Us

माओवादी–कांग्रेस सरकार एकसातापछि

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार ०५:४०

काठमाडौं । पद जोगाउने सबै प्रयत्न विफल भएपछि पदबाट राजीनामा दिन प्रधानमन्त्री खड्गप्रसाद ओली बाध्य भएका छन् । उनीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव दर्ता हुनासाथ नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उनकै पार्टी एमालेभित्र समेत उठेको थियो । तर उनी अविश्वासको प्रस्ताव विफल गराउने प्रयत्नमा अन्तिम दिनसम्म सक्रिय रहे ।
सरकारमा रहेका अरु पार्टीले पनि साथ छोड्दै गएपछि अविश्वासको प्रस्तावमाथि संसद्मा मतदान हुनुभन्दा केही घन्टाअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा दिएका थिए । यस क्रममा उनले आफ्नो हात माथि रहेको देखाउन एउटा अनौठो कामसमेत गरे । त्यो काम थियो– ‘नयाँ सरकार गठनका लागि संविधानमा प्रावधान राख्न राष्ट्रपतिसमक्ष गरिएको बाधा अड्काउ फुकाउने सिफारिस ।’ उनले आफू टिक्नका लागि संविधानको अपव्याख्या गर्दै अडान राखेका थिए– ‘मेरो विरुद्ध अविश्वासको प्रस्ताव पारित भयो भने पनि आमनिर्वाचन नभएसम्मका लागि अर्को सरकार गठन हुँदैन ।’ तर ओलीको यो अपव्याख्याप्रति ध्यान दिनुपर्ने जरुरी दलहरूले ठानेनन् । अन्त्यमा ओली आफैं लाचार हुँदै बाधा अड्काउको प्रावधान प्रयोग गरी संविधान संशोधनको प्रक्रिया अघि बढाए । प्रधानमन्त्री ओलीले अघि बढाएको यो प्रक्रियाप्रति अन्य पार्टीहरूले खासै प्रतिक्रिया दिएका छैनन् । किनकि नयाँ सरकार गठनका लागि संविधानको धारा २९८ मा व्यवस्था छँदैछ । तर राष्ट्रपति भण्डारीले संविधानमा रहेको साविककै धाराअनुसार नयाँ सरकार गठनका लागि संसद्लाई आह्वान गर्छिन् कि, आफ्नो तुष्टि पूरा गर्नका लागि प्रधानमन्त्री ओलीले जोडिदिएको धाराअनुसार आह्वान गर्छिन् ? भन्ने रहस्य खुल्न अझै बाँकी छ ।
प्रधानमन्त्री ओलीले के कस्तो प्रावधान सिफारिस गरेका छन् ? भन्ने कुरा बाहिर आएको छैन । साविककै प्रावधानअनुसार प्रक्रिया अघि बढाउने हो भने पनि अबको डेढ साताभित्र मुलुकले नयाँ सरकार पाइसक्नेछ । साविकको प्रावधानअनुसार सुरुमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एक साताको समय दिनुपर्नेछ । त्यो अवधिभित्र राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने निश्चित जस्तै छ । राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेपछि संसद्को बहुमतद्वारा प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने छ । यो काम प्रक्रिया सुरु भएको करिब चार दिनमा टुंगिन्छ ।
अविश्वासका प्रस्तावक दलबीच एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ । उनको पक्षमा तीन सय ५० भन्दा बढी मत जुट्ने सुनिश्चित भइसकेको छ । माओवादीको नेतृत्वमा नेपाली कांग्रेस, मधेसी दलहरू सरकारमा सामेल हुने सहमति यसअघि नै भइसकेको छ । सरकार छाडेर हालै बाहिरिएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपा पनि सरकारमा सहभागी हुन सक्ने सम्भावना छ । सरकार सञ्चालनको संयोजन नेपाली कांग्रेसका सभापति देउवाले गर्ने गरी सहमति भएको छ । समाचार स्रोतका अनुसार आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि क्रमशः प्रदेश तह र केन्द्रीय तहको निर्वाचन गर्ने संविधानलाई कार्यान्वयनमा ल्याउने सहमति पनि भइसकेको छ ।
– कुमार राउत