४ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस उम्मेदवार अपहरणपछि रिहा

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार ०७:०७

बाबियाचौर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए ।

चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । “शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए”, प्रजिअ पौडेलले भन्नुभयो, “संलग्न व्यक्तिको खोजी जारी छ ।”

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाउनुभएको थियो ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडाध्यक्षको उम्मेदवार चयन गरेको थियो । चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा पर्नुभएको थियो ।