८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौं महानगर र नगरमा क–कसले उम्मेदवारी दर्ता गरे ?

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार ११:३२

काठमाडौं । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकासहित १० वटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडौं महानगरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भिड रहेको छ । महानगरको राष्ट्रिय सभागृहमा पार्टीका नेता तथा कार्यकर्ता मनोनयन दर्ता गर्ने क्रममा आइरहनुभएको छ ।
काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद दाहालका अनुसार अहिलेसम्म छ जनाले प्रमुख र तीन जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँका अनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रञ्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल तथा स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् । मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार अहिलेसम्म करिब दुई सय जनाले वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसक्नु भएको छ ।
काठमाडौं महानगरमा ३२ वडा छन् । विसं २०५४ पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवारी दर्ता गराइरहनुभएको छ । यसैगरी कीर्तिपुर, टोखा, शङ्खरापुर, नागार्जुन, दक्षिणकाली, चन्द्रागिरि, बुढानीलकण्ठ, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा पनि उम्मेदवारले उम्मेदवार दर्ता गराइरहनुभएको छ ।