१२ बैशाख २०८१, बुधबार
Follow Us

उम्मेदवार चयनमा वरिष्ठ नेता पौडेलको गम्भीर आपत्ति

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार १५:२४

काठमाडौं । काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयनप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले गम्भीर आपत्ति जनाएका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै पौडेलले आपत्ति जनाएका हुन् । काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद भीमसेन दास प्रधानसँगै गएका एक हुल युवाले नाराबाजी गर्नुको साथै प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको प्रत्यक्षदर्शीले बताए । जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप लगाउँदै पौडेलले आपत्ति जनाएका हुन् । यता काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै भिमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ ।
देउवाले चितवनमा टेकप्रसाद गुरुङलाई टिकट नदिई कृष्ण सिटौला समूहका दिनेश कोइरालालाई दिएकोमा पौडेलले असहमति जनाएका थिए । त्यस्तै ललितपुरमा पनि अरुको कुरै नसुनी देउवाले आफ्नो गुटका चिरिबाबु महर्जनलाई टिकट दिएकोमा पौडेलको आपत्ति रहेको छ । ललितपुर, भक्तपुर, धादिङ, चितवन लगायतका जिल्लामा सभापति देउवाले जिल्लाको सिफारिस विपरित टिकट दिएको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका थिए । पौडेलले पत्रकारहरुसँग भने- सभापतिजी तानाशाही शैलीमा अघि बढे ।