६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचन बहिष्कारका कमाण्डर मेयरका प्रत्यासी

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७४, बुधबार ०६:५८

काठमाडौं । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् । त्यतिबेला श्रेष्ठले आफू मात्र होइन अरूलाई समेत सहभागी नहुन भन्दै सक्रियतापूर्वक निर्वाचन बहिष्कार गरेका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा–माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गरेसँगै उनी पनि निर्वाचनको प्रतिरोधमा उत्रिए ।

तिनै श्रेष्ठले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्यासी क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकारसमेत रहेका श्रेष्ठले पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट स्वतन्त्र रूपमा मेयरका लागि मनोनयन दर्ता गरेका हुन् ।

उनीसँगै पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका लागि सावित्री खरेलले मनोनयन दर्ता गराएकी छन् । दोस्रो संविधानसभा निर्वाचन बहिष्कारका लागि उनी काठमाडौंमा खटिएकी थिइन् । उनलाई पार्टीले अमर आदर्श स्कुल मतदान केन्द्रलाई केन्द्रमा राखेर निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्नका लागि नेतृत्व दिएको थियो । यो समाचार हामीले राजधानी दैनिकबाट लिएका हौं ।