१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्याललाई गृहमन्त्रालयले आईजीपीमा प्रस्ताव गरेको छैन : पूर्वगृहमन्त्री निधि

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७४, बुधबार ०९:३६

काठमाडौं । प्रहरी प्रमुख प्रकाश अर्याललाई गृहमन्त्रालयले आइजीपीमा प्रस्ताव नगरेको पूर्वगृहमन्त्री विमलेन्द्र निधिले बताए । अदालतले नियुक्त खारेज गरिदिएको जयबहादुर चन्दलाई भने आफूले प्रस्ताव गरेको पूर्वमन्त्री निधिले बताएका छन् ।
मंगलबार राति इमेज टेलिभिजनमा प्रसारित अन्तरवार्तामा मन्त्री निधिले कार्यपालिकाको अधिकार क्षेत्रभित्र न्यायलय प्रवेश नगरेको स्पष्ट पारे । गृहमन्त्रालयअन्तर्गतको प्रहरी संगठन प्रमुखको नियुक्ति प्रकरणमा कार्यपालिकाको क्षेत्रअधिकार न्यायपालिकाले हस्तक्षेप गरेको भन्दै प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लागेको सन्दर्भमा पूर्वगृहमन्त्री निधिको यस्तो भनाइ सार्वजनिक भएको हो ।
प्रहरी प्रमुखको नियुक्तिका लागि गृहमन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्छ । तर प्रकाश अर्याललाई आईजीपीमा नियुक्तिका लागि आफूले मन्त्रिपरिषद्मा कुनै प्रस्ताव नलगेको निधिले स्पष्ट पारे । गृहमन्त्रालयले प्रस्ताव नै नलगेको विषयमा न्यायलयले कार्यपालिकाको अधिकारमा कसरी हस्तक्षेप गर्छ भन्ने प्रश्न यतिबेला गम्भीर बनेको छ । गृहमन्त्रालयले प्रस्ताव नगरी अर्याल आईजीपीमा कसरी नियुक्ति भए भन्ने विषयमा आफूलाई थाहा नभएको बताए ।
आफ्नो तर्फबाट पार्टी सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगे्रको निधिले स्पष्ट पारेका छन् । सभापतिको तर्फबाट आफूलाई कस्तो व्यवहार त्यसबारे आफूलाई थाहा नभएको उनको कथन थियो । राजीनामा दिएपछि अब कांगे्रसमा कसरी रहनुहोला भन्ने प्रश्नको जवाफमा निधिले भने, ‘नेपाली कांगे्रस पार्टी कसैले आफ्नो निजी ठान्ने प्रयास नगरे हुन्छ । किनभने कांगे्रस निर्माणमा म तेस्रो पुस्ता हुँ, मेरो हजुरबुवा, बुवा र मेरो पनि त्यत्तिकै योगदान छ ।’
पार्टी सभापतिसँग आफ्नो धेरै चित्त दुखेको अन्तर्वार्ताको क्रममा निधिले बताए । संविधान संशोधन, स्थानीय तहको निर्वाचनका लागि वरियाता विवाद थाती राखेर गृहमन्त्रीका रुपमा काम गरिरहेको तर, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउँदा आफूलाई जानकारी नदिएपछि राजीनामा दिएको निधिको भनाइ थियो ।