१५ बैशाख २०८१, शनिबार
Follow Us

गोरखाका तीन वडामा काँग्रेस उम्मेद्वार निर्विरोध

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७४, बुधबार १०:२९

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत तीनवटा वडामा नेपाली काँग्रेसका उम्मेद्वार निर्विरोध वडाध्यक्ष भएका छन् । अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि काँग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन् । निर्विरोध भएपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ ।

चुमनुब्री गाउँपालिकाको वडा नं १ सामागाउँको वडाध्यक्षमा काँग्रेसबाट वीरबहादुर लामा निर्विरोध हुनुभएको हो । गौरीशङ्कर निमाविको प्रधाध्यापक पदबाट राजीनामा दिई लामाले वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएको थियो ।

यस्तै चुमनुब्री गाउँपालिकाको वडा नं २ ल्होको वडाध्यक्षमा काँग्रेसका पेम्बा रितार निर्विरोध हुनुभएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को वडाध्यक्षमा काँग्रेसकै सोनाम ग्याल्जेन लामा निर्विरोध हुनुभएको छ ।

सो गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसबाट धनबहादुर गुरुङ, नेकपा एमालेबाट कान्छी गुरुङ, नेकपा (माओवादी केन्द्र)बाट लाक्पा डुन्डप लामा र नयाँ शक्ति नेपाल पार्टीबाट रिञ्जीन नोर्बु लामाको उम्मेदवारी परेको छ । दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा उम्मेदवारी दर्तासँगै चुनावी गतिविधि बढेको छ ।