८ बैशाख २०८१, शनिबार
Follow Us

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७४, बिहीबार ०६:४७

रोल्पा । सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा हरेक महिना कम्तीमा दुईजनाले आत्महत्या गर्ने गरेको देखिएको छ । आर्थिक वर्ष २०७१÷७२ मा ४९ जनाले आत्महत्या गरेकामा आव २०७२-७३ मा सो सङ्ख्या वृद्धि भई ६६ पुगेको थियो ।

यसैगरी चालु आवको फागुन मसान्तसम्म जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ४६ रहेको तथ्याङ्क छ । आत्महत्याको प्रकृतिअनुसार झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या धेरै छ । आत्महत्यामध्ये अधिकांश झुन्डिने र विष सेवन गर्ने रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ ।

उमेरको प्रकृतिअनुसार ६० प्रतिशतभन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । चालु आवमा आत्महत्या गर्नेमध्ये पुरुषको सङ्ख्या वढी रहेको बताइएको छ । गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी तथा घरायसी द्वन्द्वका कारण आत्महत्या हुँदै आएकोमा जिल्लामा सशस्त्र द्वन्द्वबाट प्रभावितले गर्ने आत्महत्याको दर बढ्न थालेको बताइएको छ ।

सशस्त्र युद्धबाट राज्य र विद्रोही पक्षबाट आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक समस्या भोगेका व्यक्तिले लामो समय हँुदा समेत न्याय नपाउँदा विरक्तिएर आत्महत्या गर्न बाध्य हुने गरेको बताइएको छ ।

द्वन्द्व प्रभावितका लागि विभिन्न मनोसामाजिक परामर्श दिँदै आएको भएपनि सबै द्वन्द्वपीडितसम्म पुग्न नसक्दा त्यसो हुनसक्ने द्वन्द्वपीडित पूर्ण पुनले बताए । मनोसामाजिक परामर्शका साथै जीविकोपार्जनमा समेत सहयोग नगरे यस समस्या आगामी दिनमा अझै विकराल बन्दै जाने पुनको आँकलन छ ।