७ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारबाट हटेको भोलिपल्ट निधि पार्टी उपसभापति

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७४, बिहीबार ०७:१३

काठमाडौं । ‘पार्टी सभापति शेरबहादुर देउवासँग यति धेरै चित्त दुखेको छ कि, साहित्य लेख्ने भएको भएँ सायद मसँग शब्द हुँदैन थियो होला’ भनेर अन्तर्वार्ता दिएको २ दिनपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि राजीनामा फिर्ता लिएर पुनः गृहमन्त्रालय सम्हाल्न पुगेका छन् । आखिर पार्टी सभापति देउवाले निधिको दुखेको मनलाई त्यस्तो के अचूक औषधि प्रयोग गरे भन्ने चासोले अहिले चर्चा पाएको छ ।
साँच्चै नै उनको मन यसरी दुखेको रहेछ, जुन कुरा ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदमार्फत् पार्टी सभापति देउवासमक्ष पु¥याएको म्यासेजले स्पष्ट पारेको छ । मन्त्री निधिले कार्की र साउदमार्फत् ‘अहिले तिमीहरु बलियो छौं, ढाल्न सक्दिनँ होला, तर कम्तीमा चिर्थोर्न त सक्छु नि !’ सभापति देउवासमक्ष सन्देश पु¥याएका थिए ।
मन्त्री निधिले जुन विषयमा असहमति राखेका थिए, त्यसलाई सम्बोधन गर्न सभापति देउवा तयार देखिएका छैनन् । आईजीपी नियुक्तिमा पार्टी सभापति देउवा र निधिबीच मनमुटाव भए पनि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएपछि असहमति जनाउँदै आफ्ना निजी सहयोगी विश्वास विक्रममार्फत् प्रधानमन्त्रीको हातमा राजीनामा थमाएका थिए ।
सरकारमा रहँदा दोस्रो वरियता रहने र सरकार छोडेपछि पार्टी उपसभापति बनाइदिने आश्वासन पाएपछि मन्त्री निधि पुनः मन्त्रालय फर्किएको बताइन्छ । पार्टी सभापति देउवाको सारथीका रुपमा रहेका निधिले आफूले सरकार छोडेपछि पार्टीको नेतृत्वमा रहने सहमति बनेको खुलासा गरेका थिए । बुधबार राति यो सहमति कार्यान्वयन गर्ने सभापति देउवाले वचन दिएपछि मन्त्री निधिले राजीनामा फिर्ता लिइएको बुझिएको छ ।