१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायती महारानीका पति फिलिपले सन्यास लिने

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७४, बिहीबार १०:५५

बेलायती महारानी एलिजाबेदका पति फिलिपले यसै बर्षको अगष्ट महिनापछि राजकीय जिम्मेबारीबाट सन्यास लिने बकिङघम प्यालेसले घोषणा गरेको छ ।

द ड्युक अफ इडिनवर्ग पदवी प्राप्त राजकुमार फिलिप आफैंले यो निर्णय लिएका हुन् र यसमा महारानीको पनि समर्थन रहेको बकिङघम प्यालेसका प्रवक्ताले जनाए ।

आगामी अगष्टभन्दा अगाडिसम्मका लागि पूर्व निर्धारित कार्यक्रमहरुमा उनी सहभागी हुनेछन् । तर नयाँ आमन्त्रणहरु उनले स्वीकार्नेछैनन् ।

राजकुमार फिलिप अर्को महिनादेखि ९६ बर्ष लाग्नेछन् । उनले २०१६ मा ११० दिन राजकीय कार्यक्रमहरुमा भाग लिएका थिए ।

उनी ७८० भन्दा बढी संगठनका संरक्षक, अध्यक्ष तथा सदस्य छन् । उनको त्यो भूमिका भने कायमै रहनेछ । दरबारका प्रवक्ताका अनुसार उनले बेलाबेलामा सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन सक्नेछन् ।

उनी र महारानी एलिजाबेथले आगामी नोभेम्बरमा ७० औं बैबाहिक बार्षिकोत्सव मनाउँदैछन् ।