२६ बैशाख २०८१, बुधबार
Follow Us

विरोधका बीच महाभियोग प्रस्ताव अघि बढाइयो

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार ०७:५३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुको नाराबाजी र रोष्टम घेराउबीच सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव अघि बढाएकी छन् । संसद्को शुक्रबार बसेको बैठकमा सभामुख घर्तीले महाभियोगको प्रस्तावमाथि छलफल गर्ने समय निर्धारण गरेकी हुन् । सभामुखले प्रस्तावमाथिको समय निर्धारण गर्न लागेपछि विपक्षी दलहरुले संसद् बैठक घेराउ गर्दै नाराबाजी गरेका थिए ।
सभामुख घर्तीले शुक्रबार दिउँसो १ बजे पुनः बस्ने संसद् बैठकमा महाभियोगको प्रस्तावमाथि छलफल गरिने जानकारी दिइन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै संसद् बैठक अबरुद्ध गर्ने जनाएको छ । यसअघि शुक्रबार बिहान बसेको तीन दलको बैठकमा संसद्मा महाभियोगको प्रस्ताव अघि बढाउने कि नबढाउने भन्ने विषयमा छलफल भएको थियो । छलफल निष्कर्षविहीन भएपछि प्रस्ताव अघि बढाइएको हो ।
सभामुख घर्तीको पहलमा भएको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा सत्तारुढ दल र विपक्षी दलबीच कुरा मिलेको थिएन । एमालेले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता लिनुपर्ने अडान लिएको थियो भने कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव आइसकेकाले संसद्बाटै टुंगो लगाउनुपर्ने जिकिर गरेका थिए ।