१५ चैत्र २०८०, बिहीबार
Follow Us

ज्वाइँलाई जिताउन तालमेल गरेको होइन : ओली

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार १५:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा न्याय अझै पनि जीवितै रहेको बताएका छन् । काठमाडौंको एमाले उम्मेदवारहरुसँग शुक्रबार भएको भेटघाट कार्यक्रममा उनले ‘प्रधानन्यायाधीश सुशील कार्कीमाथिको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशले न्याय अझै नमरेको पुष्टि गरेको छ’–भने ।
‘न्यायालयलाई आफ्ना पन्जामुनि दबाएर राख्न खोज्ने प्रवृत्ति हावी भएकाबेला पनि न्यायालय ज्यूँदै रहेछ’–उनले भने । ‘सत्ताधारीहरुको मनपरीले राणाशासन अन्त्य भएपनि जहानियाँ शासन कायमै रहेको आभास गराएको’ भन्दै ओलीले सर्वोच्चको शुक्रबारको फैसलाले न्याय जगाएको’ धारणा राखे ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा राप्रपासँग भएको तालमेलको बचाऊ गर्दै उनले ‘अरु पार्टीहरुलेजस्तो छोरी, ज्वाइँलाई जिताउने उद्देश्यले तालमेल नगरेको’ जिकिर गरे । दोस्रो चरणको निर्वाचन बजेटअघि सार्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ । एमालेका सचिव योगेश भट्टराईले अदालतको आदेशपछि सत्ता गठबन्धनलाई नैतिक सङ्कट परेको टिप्पणी गर्दै आदेशले आफ्नो पार्टीले उठाएको विषय सही साबित भएको प्रतिक्रिया दिनुभयो ।