१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काँग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७४, शनिबार ११:१७

चितवन । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । भरतपुर महानगरपालिकामा दुबै दलले संयुक्तरुपमा उठाइएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।
पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेणु दाहाललाई नेपाली काँग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली काँग्रेसकी पार्वती शाहलाई नेकपा (माओवादी केन्द्र)ले सहयोग गर्ने जनाइएको छ ।
प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई निर्वाचित गर्न दुबै पार्टीका महानगरस्तरीय पार्टी र भातृ सङ्गठनलाई व्यापक रुपमा परिचालन गर्ने वक्तव्यमा जनाइएको छ । दुबै उम्मेदवारको संयुक्त प्रचारप्रसार गर्ने, संयुक्त रुपमा कार्यक्रम गर्ने, वडा र अन्य नगरपालिका एव्म गाउँपालिकामा समन्वय गरी काम अघि बढाउने पनि सो वक्तव्यमा उल्लेख छ ।
सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले संयुक्त उम्मेदवारलाई निर्वाचित गराउने बताउँदै वडा तहमा पनि काँग्रेस र माओवादीबीच समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
वडामा मिलेर निर्वाचनमा जाने वा नजाने विषयमा टुङ्गो लागि नसकेको भन्दै उहाँले पूर्व राजा ज्ञानेन्द्र, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीचको साठगाठ तोड्न काँग्रेस र माओवादीबीच सहकार्य भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जिल्लामा काँग्रेस र माओवादी केन्द्रबाहेक अन्य कुनै पनि दलसँग निर्वाचनको तालमेल नगर्ने बताउँदै वडा नं– २६ मा नेकपा एमालेसँग गरिएको तालमेल भङ्ग भएको बताउनुभयो ।
सो वडामा सबै पदमा काँग्रेसलाई सघाउने पनि उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग तालमेल गरेर जित्ने ठाउँ काँग्रेसले छाडेको भन्दै रुष्ट कार्यकर्ता क्रमश सम्मालिँदै आएको नेपाली काँग्रेस चितवनले जनाएको छ ।
भरतपुर महानगरमा नेपाली काँग्रेस पहिलो शक्तिका रुपमा स्थापित छ । महानगर बनेको चितवन क्षेत्र–४ बाट नेपाली काँग्रेसका पूर्व सभापति स्व सुशील कोइराला दोब्बर मत ल्याएर निर्वाचित हुनुभएको थियो ।