४ बैशाख २०८१, मंगलवार
Follow Us

बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार ०८:४४

लागोस । इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ । सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना अपहरणमुक्त भएका हुन् ।
नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
“हो, उनीहरु अपहरणमुक्त भएका हुन्, बोर्नो राज्यको बान्की सहरमा पुग्नका लागि उनीहरु अबुजाबाट हवाईजहाजमा गएका छन्,” एक अधिकारीले भने ।
बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तर्राष्ट्रिय मध्यस्तकर्ताको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो । रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तर्राष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो ।
राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकालाई सुरक्षितरुपमा रिहा गराइ छाड्ने अघिल्लो महिना बताउनुभएको थियो । उहाँले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गर्नुभएको छ । सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो ।
सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म करिब २० हजारभन्दा बढी मारिएका छन् लाखौँ मानिस विस्थापित भएका छन् । अपहरण गरिएका अधिकांश बालिका इसाई धर्मावलम्बी थिए । उनीहरुलाई इस्लाम धर्मावलम्बी बन्न र बोको हरामका सदस्यसँग बिहे गर्न दबाब दिइएको थियो ।