१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार ०८:४७

चितवन । खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो ।

बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उहाँले बताउनुभयो । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ ।