११ बैशाख २०८१, मंगलवार
Follow Us

विगतकाको तुलनामा आचारसंहिता उल्लंघनका घटना न्यून

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार १६:१४

काठमाडौं । विगतका निर्वाचनको तुलनामा वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि आचारसंहिता उल्लंघनका घटनामा कमि आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले लिखित, फोन, इमेल लगायतका माध्यमबाट उजुरी दिने व्यवस्था मिलाइएपनि करिब एक सय वटा उजुरीमात्रै परेका छन् । निर्वाचन मिति घोषणासँगै दल र सरकारसहितलाई आचारसंहिता लागू गरेको आयोगले हालसम्म आचारसंहिता उल्लंघनका घटना न्यून देखिएको जनाएको हो ।
विगतमा चुनाव प्रचारप्रसार निकै भड्किलो हुने गरेको आरोप दलमाथि र निर्वाचन प्रभावित गर्ने काम गरेको आरोप सरकारमाथि लाग्ने गरेको भएपनि यो पटक भने त्यस्ता घटनामा कमी आएको हो ।
यसपटक निर्वाचन आयोगमा राजनीतिक दलहरुले ठूलो ठूलो झण्डा बनाएको, मोटरसाइकल र्‍याली गरेर प्रचारप्रसार भड्किलो गरेको, टिसर्ट, टोपी बाँडेको, राष्ट्रिय झण्डाको दुरुपयोग गरेको लगायत उजुरी परेका छन् । उजुरीहरुको अध्ययन गर्ने र त्यसमा छानबिन गर्ने काम पनि भइरहेको आयोगले जनाएको छ ।
आयोगले उजुरीहरुको अध्ययन गरी सम्बन्धित दल र पक्षलाई सचेत गराउने तयारी गरेको छ । आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमनकर्ता, सूक्ष्म अनुगमनकर्ता र आयोगको संयन्त्रलाई परिचालन गरेको छ । पहिलो चरणको स्थानीय निर्वाचनका लागि २ सय ८३ वटा स्थानीय तहमा करिब १३ हजार पदका लागि ४८ हजारको हाराहारीमा उम्मेदवार चुनावी मैदानमा छन् ।