१५ चैत्र २०८०, बिहीबार
Follow Us

घन थापाको गीति एल्बम ‘बयान’ र ‘बस्ती’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ०७:५८

सुरेन्द्र इङ्नाम
। कवि तथा गीतकार घन थापा मगरले एकै पटक दुई गीति एल्बम ‘बयान’ र ‘बस्ती’ ल्याएका छन् ।

विश्व नेपाली साहित्य महासङ्घ साउथ यूके र नेपाली साहित्य विकास परिषद बेलायतको संयुक्त आयोजनामा आइतबार हकिन्ज कम्युनिटी हलमा भएको कार्यक्रममा एल्बम सार्वजनिक गरियो । बेलायतका लागि नेपाली राजदूत तथा कवि डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री), नेपाली साहित्य विकास परिषद्का संस्थापक अध्यक्ष सुरेशजंग शाह लगायतले एल्बम सार्वजनिक गरे ।

‘बयान’ एल्बममा ‘जति हेर्‍यो उति राम्रो’, ‘आजभोली बोल्नै छोड्यौ’, ‘पात झर्न नदेऊ बोटको’ लगायत ६ गीतहरु छन् भने ‘बस्ती’ मा ‘स्वर्गभन्दा प्यारो लाग्छ’, ‘डाँडा र काँडा हिमाल’, ‘हिउँद होस् या वर्षा होस्’ लगायत सात वटा गीत समेटिएका छन् ।

गीतहरुमा मेलिना राई, सरला राई, शिव परियार, राज सिग्देल, मुन्ना गुरुङ, दुर्गा परियार, पवन थापा, तारा श्रीष र दीपा लामाको स्वर छ भने सबै गीतमा डक्टर किराँतले सङ्गीत दिएका छन् ।

एल्बम र तिनमा समेटिएका गीतहरुको समीक्षा सुरेशजंग शाह र विश्वासदीप तिगेलाले गरेका थिए । कार्यक्रममा गायक शिव परियारले ‘हिउँद होस् या वर्षा होस्’ बोलको गीत गाएका थिए । साङ्गीतिक कार्यक्रम दुई घण्टासम्म चलेको थियो । त्यसपछिको क्रममा घन थापाले समाजसेवीका रुपमा गरेका कामको बारेमा बनाइएको १५ मिनेटको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

थापाका यसअघि कवितासङ्ग्रहहरु ‘मेरो चिनो मेरो देश’, ‘देशको माटोमा मेरो फूल’ र ‘क्याक्मीको कोसेली’ र गीति एल्बम ‘मायाको संसार’ निस्किसकेको छ ।