१५ बैशाख २०८१, शनिबार
Follow Us

फ्रान्समा निर्वाचित भए अहिलेसम्मकै कान्छा राष्ट्रपति

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ११:३०

पेरिस । फ्रान्सका मतदाताले देशको इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपतिका रुपमा इम्मानुएल म्याक्रोनलाई निर्वाचित गरेका छन् ।
युरोपबीचको एकता बलियो पार्नुपर्ने पक्षमा उभिएका उदार मध्यमार्गी नेता म्याक्रोनले चरम दक्षिणपन्थी राष्ट्रवादी नेतृ मरिन ल पेनलाई पराजित गरेका हुन् । म्याक्रोनले करिव दुई तिहाई मत पाएका छन । म्याक्रोनले ६५ प्रतिशत र प्रतिद्वन्द्वी मरिनले झण्डै ३५ प्रतिशत मत पाएकी छिन् ।
चुनावी परिणामपछि म्याक्रोनका हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै पेरिसको लुभ्र संग्राहलय बाहिर विजयोत्सव मनाएका छन् । राष्ट्रपतिमा निर्वाचित म्याक्रोनले समर्थकहरुलाई सम्बोधन गर्दै परिवर्तनको पक्षमा सांसदहरुको समर्थन जुटाउने र हाल विभाजित रहेको फ्रान्सलाई एकबद्ध बनाउने प्रतिबद्धता जनाएका छन ।
उनका प्रतिद्वन्द्वी मरिनले उनको दल न्याश्नल फ्रन्ट पार्टी अब सबैभन्दा बलियो विपक्षी दल बनेको प्रतिक्रिया दिएकी छिन् ।
३९ वर्षिय म्याक्रोनले अर्को आइतबारसम्म राष्ट्रपति फ्राँस्वा ओलान्दको उत्ताराधिकारीको रुपमा पदभार ग्रहण गर्ने बताइएको छ । फ्रान्सको राष्ट्रपति चुनावमा इम्मानुएल म्याक्रोनको जितलाई युरोपेली संघ विरोधी नीतिहरुको पराजय भन्दै युरोपभरबाट स्वागत भएको छ ।