११ बैशाख २०८१, मंगलवार
Follow Us

पहिलो चरणको निर्वाचनको मतदान सकिए लगतै मतगणना

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार ०७:३१

काठमाडौं । बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतदान सकिए लगतै मतगणना हुने भएको छ । पहिलो चरणको मतदान सकिए लगतै मतगणना भए दोस्रो चरणको निर्वाचणमा असर पर्ने भन्दै दलहरु बीच फरक मत रहेको बेला निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।

पहिलो चरणको मत परिणामवाट असन्तुष्ट राजनीतिक दलले विभिन्न आरोप लगाउन सक्ने र दोस्रो चरणको निर्वाचनमा अवरोध हुन सक्ने भन्दै मतदान सकिए लगतै मतगणना गर्ने निर्णय गरिएको आयोगको भनाई छ । आयोगले कानूनी तथा व्यावहारिक दुवै हिसाबले मतदान सकिए लगतै मतगनणा गर्नुपर्ने भन्दै सहमती जुटाउन प्रमुख दललाई आग्रह गरेको थियो ।

आयोगको आग्रह पछि आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , काँग्रेस सभापति शेर बहादुर देउबा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको बैठकमा मतदान लगत्तै मतगणना गर्ने सहमती बनेको थियो ।

यसअघि नेताहरुले पहिलो चरणको चुनावको मत परिणाम घोषणा गरेर दोस्रो चरणको चुनावमा जानु उपयुक्त नहुने जिकिर गर्दै आएका थिए । उनीहरुले पहिलो चरणको निर्वाचन गरेर मतपेटिका सुरक्षित रुपमा राखेर अर्को चरणको चुनाव सकिएपछि संगै मतगणना गर्नु पर्ने अडानमा थिए ।

२०४९ र २०५४ सालमा पनि स्थानीय निर्वाचन पनि दुई चरणमा भएको थियो । त्यसबेला पनि मतदान लगत्तै मतगणना गरिएको थियो । वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ४ महानगरपालिका, १ उपमहानरपालिका, ९२ नगरपालिका, १ सय ८६ गाउँपालिका र २ हजार ५ सय ९८ वडामा मतदान हुदै छ । मतदानका लागि ६ हजार ६ सय ४२ मतदानकेन्द्र तोकिएको छ भने ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले आफनो अधिकार प्रयोग गर्ने छन ।