१३ बैशाख २०८१, बिहीबार
Follow Us

अनेसास यूकेको अध्यक्षमा गुरुङ

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार २१:२०

16072524fdffdलण्डन – अाइतवार चार्लटन एफसी, लण्डनको प्रशिक्षण कक्षामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके च्याप्टरको वार्षिक साधारण सभा, भानुजयन्ती तथा संस्थाबाट प्रत्येक वर्ष प्रदान गरिने अनेसास सुप्रमा साहित्यिक पुरस्कार समारोह सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डा. रुपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई समाजकी महासचिव लक्ष्मि थापाराई (लारा)ले सञ्चालन गरेकी थिईन । सुप्रमा पुरस्कारका संस्थापक स्व. ईश्वर प्रसाद मानन्धरका श्रीमती जानकी मानन्धर, प्र्रमुख अतिथि, विशिष्ट अतिथि श्री शिवाजी श्रेष्ठ तथा अन्य अतिथिहरुको आसन ग्रहण पश्चात समारोहका अध्यक्ष तथा प्रमुख अतिथिबाट द्वीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेको थियो ।

आदिकवि भानुभक्त आचार्य साथै स्व. ईश्वर मानन्धर(बेलायतवासीद्वारा श्रद्धस्वरुप सम्बोधन, बेलायतका लागि नेपाली आदिकवि)को तस्वीरमा पुष्पान्जली अर्पण गरेर यस कार्यक्रमलाई तीन चरणमा सञ्चालन गरिएको थियो । गतवर्ष मानन्धर परिवारमा दुःख परेकोले गर्दा पुरस्कार वितरण गरिएको थिएन । त्यसकारण गतवर्ष र यसवर्ष गरी सुप्रमा पुरुस्कार २०१५ र २०१६का लागि दुईजना श्रष्टाहरुलाई क्रमशः २०१५कालागि खण्डकाव्य अफिम फूल्ने देशका सर्जक केदार साङ्केत सुनुवार र २०१६का लागि कमरेड भाउज्यू कथा सङ्ग्रहका सर्जक कृष्ण बजगाईलाई प्रदान गरेको थियो ।

विशिष्ट अतिथि, शिवजी श्रेष्ठले स्व. ईश्वर मानन्धरका बारेमा प्रकाश पारेका थिए । सर्जक केदार साङ्केत देशबाहिर रहेको हुनाले उनको पुरस्कार अनेसासको अर्को कार्यक्रममा प्रदान गरिने निर्णय गरियो । २०१६ सालका विजेता कृष्ण बजगाईलाई प्रमुख अतिथि तथा अध्यक्षको बाहुलीबाट प्रशंसापत्र, पुष्पगुच्छ र २५१पाउण्ड रकमको पुरस्कार प्रदान गरेका थिए । संस्थाका सल्लाहकार तथा अनेसास केन्द्रिय उपाध्यक्ष सुमलकुमार गुरुङले विजेता श्रष्टाको परिचय प्रकाश पारेका थिए । सोही अवसरमा कृष्ण बजगाईले आफ्नो छोटो मन्तव्यमा मानन्धर परिवार तथा संस्थाप्रत्ति आभार प्रकट गरेका थिए ।

संस्थाका महासचिव, लारालाई अनेसासले सन् २०१४ को अनेसास डायस्पोरा सम्मानले सम्मान गरेको थियो । समयको अनुकुलता नमिलेकोले सर्जक सम्मान ग्रहणको बेला उपस्थित हुन सकेका थिएनन । यसै कार्यक्रममाँझ त्यो प्रशंसापत्र अध्यक्षद्वारा प्रदान गरेका थिए । अध्यक्ष डा. रुपक श्रेष्ठले सहभागीहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेर पहिलो चरणको कार्यक्रम समापन गरेका थिए । दोश्रो चरणको कार्यक्रम कविता वाचन रहेको थियो ।

कविता वाचन गर्नेहरुमा रेशम आर्याल, फणिन्द्र भट्टराई, गोकुल भण्डारी, लैला गुरुङ, बिरु मुकारुङ, सन्तोष कार्की, सुमल गुरुङ, डा. रुपक श्रेष्ठ तथा लारा थिए । अन्तिम चरणको कार्यक्रममा ९ सदस्य सहितका कार्यकारी समिति सुमलकुमार गुरुङको अध्यक्षतामा गठन भएको छ । पदाधिकारी तथा सदस्यहरुमा क्रमशः लक्ष्मि थापाराई (लारा) उपाध्यक्ष, सन्तोष कार्की महासचिव, राज श्रेष्ठ कोषाध्यक्ष, रेखा खरेल सचिव तथा क्रमशः ललित न्यौपाने, बिरु मुकारुङ, कृष्णा थापाक्षेत्री, लैला गुरुङ सदस्यमा निर्वाचित भएका छन् । संस्थाका सल्लाहकारमा डा. रुपक श्रेष्ठलाई मनोनित गरेको छ ।